पोखरा । पोखरामा सौन्दर्य व्यवसायलाई स्थापित गराउन अग्रणी भूमिका निर्वाह गरेकी महिला उद्यमी चिनु गुरुङ पोखरा उद्योग वाणिज्य संघको उद्योग उपाध्यक्षको उम्मेदवार बन्ने भएकी छन् । संघको ३१औं महाधिवेशनमा कार्यसमिति सदस्यमा र ३२औं महाधिवेशनमा उपमहासचिवमा लोकप्रिय मतसहित विजयी गुरुङ यसपटक ३३औं महाधिवेशनमा उद्योग उपाध्यक्षमा अगाडि बढेकी हुन् ।
उद्योग वाणिज्य संघमा प्रवेश गरेर महिला उद्यमशीलता तथा व्यावसायिक विकासका क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गरेकी महिला उद्यमी गुरुङले यस पटक उपाध्यक्ष भएर उद्योगी, व्यवसायीहरुको हकहितमा क्रियाशील बन्ने प्रतिबद्धता व्यक्त गरेकी छन् । सबै क्षेत्रका उद्योग व्यवसायीको साथ र सहयोगबाट आफूले अत्याधिक मतले चुनाव जित्ने उनको विश्वास छ ।
पोखरामा सौन्दर्य व्यवसायलाई स्थापित गराउन सफल चीनु गुरुङ पोखराकी सफल महिला उद्यमी हुन् । २०५० सालमा भारतको मन्द्रासबाट सौन्दर्य तालिम लिएर पोखरा आएकी गुरुङसँग पोखरामा केही गर्ने सोच पलायो । फलस्वरुप २०५२ मा ३० हजार लगानीमा पोखराको पृथ्वीचोकमा गुरुङ व्युटीपार्लर स्थापना गरिन् । व्यवसायलाई बिस्तार गर्ने क्रममा अहिले उनले गुरुङ व्युटी एकेडेमी सञ्चालन गर्दै आधिदर्जन शाखाहरु बिस्तार गरिसकेकी छन् ।

गुरुङले हालसम्म हजारौं विद्यार्थीलाई सौन्दर्य शिक्षा प्रदान गरिसकेकी छन् । उत्पादित जनशक्ति मध्ये प्रायले देशका विभिन्न ठाउँमा व्यवसाय सञ्चालन गरिरहेको बताउँछिन् उनी । अहिले गुरुङ व्युटीपार्लर प्रालिमा ५० जना भन्दा बढीले प्रत्यक्ष रोजगारी पाइरहेका छन् । आफ्नो एक्लो प्रयासबाट व्युटीपार्लर व्यवसायमा लागेकी गुरुङ सफल सौन्दर्य प्रशिक्षक पनि हुन् ।
प्रशिक्षार्थीहरुलाई व्यवसायमा लाग्न प्रेरणा प्रदान गर्दै उनले प्रशिक्षण दिन्छिन् । विदेशका नयाँनयाँ प्रविधिलाई भित्र्याउँदै विद्यार्थीलाई प्रशिक्षण दिने गरेको उनी बताउँछिन् । सौन्दर्य व्यवसायबाट धेरैको प्रेरणा बन्न सफल गुरुङले आफ्नो एकेडेमीमा गरिब तथा जेहन्दार विद्यार्थीहरुलाई विशेष छुटमा अध्ययनको व्यवस्थासमेत मिलाएकी छन् । आफूले उत्पादन गरेका विद्यार्थीहरु विभिन्न ठाउँमा कामका लागि माग हुने गरेको गुरुङ बताउँछिन् । व्यवसायमा प्रयोग हुने केही प्रडक्टहरु कम्पनी आफैले उत्पादनसमेत गर्दै आइरहेको छ ।




Comments are closed.