पन्ध्र सय गोही नदीमा छोडियो

टेकराज पोखरेल/नवपुर । सङ्कटापन्न अवस्थामा पुगेको घडियाल गोही संरक्षणका लागि चितवन राष्ट्रिय निकुञ्जमा घडियाल संरक्षण तथा प्रजनन केन्द्र स्थापना गरिएको छ । जनसङ्ख्या वृद्धिसँगै बढ्दै गएको मानवीय चाप तथा शहरीकरण एवं औद्योगिकीकरणबाट सृजित जलप्रदूषणलगायत कारणबाट घडियाल गोहीको संख्या घट्दै गएपछि विसं २०३५ मा कसरामा घडियाल संरक्षण तथा प्रजनन केन्द्र स्थापना गरिएको थियो ।

घडियाल गोहीलाई बगेको सफा पानी तथा आहारको लागि माछा आवश्यक हुनु, सामान्य खालको दबाब पनि सहन गर्न नसक्नु, घडियालको अण्डा तथा बच्चालाई मगर गोहीका साथै पानीमा विचरण गर्ने ठूला खाले कछुवालगायत, स्याल, कुकुरले समेत खाइदिने गर्दा गोहीको सङ्ख्या घटेपछि प्रजनन केन्द्र स्थापना भएको निकुञ्जका पूर्वसहायक संरक्षण अधिकृत एवं संरक्षणकर्मी बेदबहादुर खड्काले बताए । स्थापना कालमा नारायणी नदीको बगरबाट घडियालको अण्डा सङ्कलन गरेर यस केन्द्रमा बच्चा हुर्काइएको थियो । केन्द्रमा हुर्किएका घडियालले विसं २०५१ देखि नै निरन्तर रुपमा बच्चा कोरली रहेका छन् ।

केन्द्रमा हुर्किएका घडियाल तथा नारायणी नदी तथा राप्ती नदी किनारबाट ल्याइएका अण्डाबाट बच्चा हुर्किएपछि निकुञ्जले घडियाललाई खुला प्रकृतिमा लगेर छोड्ने गरेको खड्काले बताए । निकुञ्जले वर्षेनी नदी किनारमा गएर घडियालको गुँड खोज्ने तथा खतरा ठाउँमा रहेका अण्डा गुँडबाट झिकेर प्रजनन केन्द्रमा लैजाने गरेको छ । खोलाको छेउमै बालुवाको ढिस्कोमा पारेको अण्डा, पानीले गुँडको ढिस्को काट्दै गरेको, पानीको बहावले बगाउने खतरा रहेको, गुँड पानीको सतहबाट कम उचाइमा रहेका गुँड तथा हात्ती, गैँडा हिड्ने बाटोमा परेका गुँडबाट निकुञ्जले अण्डा सङ्कलन गर्ने गरेको खड्काको भनाइ छ ।

footwear zone

घडियालको अण्डाबाट बच्चा निस्कन ९० दिन लाग्छ । प्रजनन केन्द्रमा बच्चा कोरलेपछि हुर्किएका घडियाल गोहीलाई नारायणी, राप्ती, रिउ, कालिगण्डकी, कर्णालीसहितका विभिन्न नदीमा लगेर छोड्ने गरिएको छ । घडियाल प्रजनन केन्द्र स्थापनापछि विसं २०३९ देखि नै यहाँ हुर्काइएका घडियाललाई देशका विभिन्न प्रमुख नदीमा लगेर छोड्ने काम भइरहेको खड्काले बताए ।

You might also like

Comments are closed.