तराईमा चिसो बढ्यो, जनजीवन कष्टकर बन्दै

कपिलवस्तु । कपिलवस्तुसहित तराईका अधिकांश जिल्लामा मौसम परिवर्तन भएसँगै एक्कासि चिसो बढेको छ । दुई दिनदेखि शीतलहर तथा बाक्लो हुस्सुका कारण कपिलवस्तुको जनजीवन कष्टकर बनेको छ ।

शीतलहरले चिसो बढेपछि कपिलवस्तुका अधिकांश चोक चौराहमा चहलपहल घटेको छ। कुहिरोसँगै चल्ने चिसो हावाले घरबाहिर निस्कनसमेत समस्या हुने गरेको तौलिहवाका गुलाम अलीले बताए । जाडो बढे पनि स्थानीय सरकार र स्थानीय प्रशासनले सार्वजनिक स्थल, चोक, मठमन्दिरमा दाउराको जोहो गर्न सकेका छैनन्। खास गरेर जाडोका कारण दलित, विपन्न, वृद्धवृद्धा, बालबालिका सबैभन्दा बढी प्रभावित भएको चिकित्सकहरू बताउँछन्। उनीहरूमा चिसोका कारण हुने बिरामी देखिएको छ ।

कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्राले लगातार जाडो बढ्दै गएकाले अब छिट्टै जिल्लाको सबै स्थानीय तहको चोक–चोकमा दाउरा बाल्ने व्यवस्था गर्न लागेको बताए । जिल्लामा रहेका साझेदारी वन तथा समुदायिक वनसँग समन्वय गरी गाउँ–गाउँ चोक चौराहामा दाउरा वितरण गर्नका लागि पहल गर्ने प्रमुख जिल्ला अधिकारी मिश्राले जानकारी दिए।

footwear zone

अत्यधिक चिसोका कारण प्रभावित बिरामी बढेका छन्। चिसोका कारण स्थानीय अस्पतालमा बालबालिका, वृद्धवद्धामा लाग्ने निमोनिया, खोकी, घाँटी दुख्ने जस्ता रोगका बिरामी अस्पतालमा बढेको पाइन्छ।

चिसोबाट बच्नका लागि कपिलवस्तुको विभिन्न चौक चौराहा बजारमा दाउरा बाली आगो ताप्ने क्रम बढेको छ। चिसोकै कारण सवारीसाधनमा यात्रुको चाप घटेको छ। चिसोले बिहानपख यात्रु नपाई कतिपय यात्रुवाहक बस ग्यारेजमा थन्क्याइएको छ।

एक्कासि अत्यधिक चिसो बढेपछि जिल्लामा रहेका विभिन्न सरकारी कार्यालयमा सेवाग्राहीको उपस्थितिसमेत न्यून देखिएको जिल्ला प्रशासन कार्यालय तौलिहवाले जनाएको छ। रासस

You might also like

Comments are closed.