नवलपुर । पोल्ट्री उद्योगका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्री उत्पादन गर्न नवलपुरमै उद्योग स्थापना गरिएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को देवचुली नगरपालिकास्थित दलदलेमा चार उद्यमीको ८ करोड रुपैयाँको लागतमा उद्योग स्थापना गरिएको हो ।
पोल्ट्री क्षेत्रमा बढ्दो लगानी र पोल्ट्री उद्योगका लागि आवश्यक पर्ने सामग्रीको अत्यधिक मागलाई मध्यनजर गर्दै दलदलेमा कम्पास एग्रो इन्डष्ट्रिज प्रालि स्थापना गरिएको प्रमुख कार्यकारी अधिकृत संगम घिमिरेले जानकारी दिए । पोल्ट्रीजन्य उद्योगलाई चाहिने सबै सामग्रीसहित कृषिसँग सम्बन्धित सामग्री उत्पादन गर्ने उद्देश्यका साथ उद्योग स्थापना गरिएको उनले बताए । कम्पनीले पोल्ट्री फर्ममा आवश्यक पर्ने सम्पूर्ण प्लाष्टिकका सामग्री, कृषि उत्पादनमा थोपा सिँचाइका लागि आवश्यक पर्ने सामग्री तथा अन्य प्लाष्टिकका सामग्रीसमेत उत्पादन सुरु गरेको जनाइएको छ ।
“पोल्ट्री फर्मका लागि आवश्यक पर्ने ९० प्रतिशतभन्दा बढी सामग्री हामीले यहाँ नै उत्पादन सुरु गरेका छौँ”, उनले भने, “यसका साथै व्यवसायी र किसानले चाहेअनुसारका सबै प्रकारका प्लाष्टिकजन्य सामग्री उत्पादन गर्ने क्षमता राख्दछौँ ।” कम्पनीले पोल्ट्रीको ड्रिङकर्स, पोल्ट्रीको फिडर्स (केजहरू ठूला, मिडियम र साना आकारमा) उत्पादन सुरु गरेको छ । त्यसैगरी प्यारेन्ट्स, ब्रोइलर र लेयर्स जातका कुखुराहरूका लागि अटोमेटिक ड्रिङकर्स, निप्पल ड्रिङकिङ सिस्टम उत्पादन भइरहेको जनाइएको छ । कम्पनीमा उत्पादन भएका निप्पल तथा ड्रिङकिङ सिस्टमहरू ठूला ह्याचरी, इनहाउस, मध्यम र साना ह्याचरीहरूमा जडान गर्ने गरिएको कार्यकारी घिमिरेले जानकारी दिए ।

कम्पास एग्रो इन्डष्ट्रिज प्रालिबाट उत्पादित सामग्रीको प्रयोग गरेपछि कुखुराले कहिल्यै पनि फोहरपानी नखाने र चल्ला पनि छिटो हुर्कने तथा कुखुरामा रोग कम लाग्न उनले दाबी गरे । कुनै पनि वितरक, पोल्ट्री व्यवसाय तथा अन्य कम्पनीले आफ्नो लोगो र नामसहित सामान उत्पादन गराउन चाहेमा पनि उद्योगले सोहीअनुसार प्रिन्टसहितको उत्पादन उपलब्ध गराउने उनले बताए ।




Comments are closed.