काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ७०८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको तथ्यांकमा नौ हजार ३७६ जनामा कोरोना परीक्षण गर्दा ७०८ जनामा संक्रमण पाइएको हो ।
आज थपिएकासँगै देशभर सक्रिय संक्रमित १० हजार ९४६ जना रहेका छन् । ५०० भन्दाबढी संक्रमित भएका जिल्ला चार र २०० भन्दाबढी संक्रमित भएका जिल्ला १४ रहेका छन् । ५०० भन्दाबढी संक्रमण हुने जिल्ला काठमाडौं, ललितपुर, भक्तपुर र कास्की रहेका छन् । संक्रमण दर १८.५ प्रतिशत रहेको छ । संक्रमित शून्य रहेका जिल्ला मुस्ताङ र मुगु रहेका छन् ।

पछिल्लो २४ घन्टामा ९३२ जना संक्रमणबाट निको भएका छन् ।
यससँगै नेपालमा हालसम्म सात लाख ८५ हजार ८१३ जनामा संक्रमण रहेको छ । नेपालमा संक्रमणमुक्त हुने दर ९७.२ प्रतिशत रहेको छ । आज कोरोना संक्रमणबाट ११ जनाको निधन भएको छ । अहिलेसम्म संक्रमणबाट ११ हजार ३३७ जनाको निधन भएको छ ।
त्यसैगरी होम आइसोलेसन १० हजार ११६, संस्थागत आइसोलेसनमा ८३० जना, सघन उपचार कक्ष (आइसियु)मा २७९ र भेन्टिलेटरमा ९१ जना रहेका छन् । आज ५८ हजार ८५३ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । अहिलेसम्म ८५ लाख ९४ हजार २७४ पहिलो मात्रा र ६५ लाख ४६ हजार २३७ पूर्ण मात्राको खोप लगाइसकेका छन् ।




Comments are closed.