‘सङ्क्रमण रोक्न सरकार गम्भीरतापूवर्क लाग्नुपर्छ’

काठमाडौं । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले कोभिड–१९ को सङ्क्रमण रोक्न गम्भीरतापूर्वक लाग्न सरकारलाई सुझाव दिएको छ । समितिको बुधबार सिंहदरबारमा बसेको बैठकका सहभागी सदस्यले कोरोना भाइरसको सङ्क्रमण तीव्ररुपमा फैलिँदै गएकामा चिन्ता व्यक्त गरेका छन् ।

बैठकमा समितिका संयोजक जीवनराम श्रेष्ठले स्वास्थ्य मापदण्ड नअपनाउँदा कोरोना सङ्क्रमण ह्वात्तै बढेको बताए । स्वास्थ्य मापदण्ड सरकारी तवरबाट नै पालना नगरिएकामा झन समस्या बढ्दै गएको उनले सुनाए । “स्वास्थ्य मापदण्डको पालना गराउने निकाय नै त्यसप्रति सचेत नभएको पाइयो, त्यसप्रति सजग हुन आग्रह गर्छौँ”, संयोजक श्रेष्ठले भने । कोरोना रोकथाम तथा उपचारका लागि आवश्यक व्यवस्था चाँडोभन्दा चाँडो मिलाउन उनले सरकारसँग आग्रह गरे । सङ्क्रमणबाट जोगिने उपाय चाँडो अवलम्बन गर्नुपर्नेमा जोड दिँदै श्रेष्ठले विगतका कमी कमजोरीबाट पाठ सिक्दै अब निम्तिन सक्ने भयावह अवस्थाबाट जोगिनु जरुरी रहेको उनको भनाइ थियो ।

भारतबाट सहजरूपमा औषधि आयात गर्न नसकिएको समितिले अनुगमनका क्रममा पाएको सुनाउँदै संयोजक श्रेष्ठले सरकारले सबैभन्दा पहिला यसमा ध्यान दिनुपर्ने बताए । “अस्पतालमा स्वास्थ्य उपचारका आधारभूत कुराको अभाव भएको पायौँ, सङ्क्रमितले समयमै उपचार पाउन सक्ने सरकारले व्यवस्था मिलाउनु पर्छ”, उनले भने ।

footwear zone

समितिका सदस्य अञ्जना विशङ्खेले विगतमा जस्तो कोरोना सङ्क्रमितले उपचार पाउने तर अन्यले उपचारबाट वञ्चित हुनुपर्ने स्थितिको सरकारले बेलैमा अन्त्य गर्नुपर्ने सुझाव दिए । उपचारका नाममा निजी क्षेत्रका स्वास्थ्य संस्थाले मनपरी शुल्क लिने गरेको पाइएको उनले सुनाए । बिरामीलाई समयमै उपचार दिलाउन जनशक्ति थप्न विशङ्खेले सरकारसँग आग्रह गरे । “जनशक्तिको एकदमै अभाव छ, समयमै सरकारले समस्या सम्बोधन गर्नुपर्छ, पछि स्थिति जटिल बन्छ”, उनले भने ।

समितिका अर्का सदस्य सरिता न्यौपानेले कोरोना सङ्क्रमितको उपचारमा संलग्नको सेवा सुविधामा ध्यान दिन सरकारसँग आग्रह गरे । “जोखिम मोलेर उपचारमा संलग्न हुने जनशक्तिको मनोबल बढाउन आवश्यक छ, कतिपयले काम गरेको पारिश्रमिक पाउन बाँकी रहेको अवस्था छ, यस्तोमा कसरी काम गर्न सक्छन् ?”, उनले प्रश्न गरे । औषधि खरिद प्रक्रिया सहज बनाउनुपर्ने उनले सुनाए ।

यस्तै समितिका सदस्य एकवाल मियाँले कोरोना सङ्क्रमितको उपचार तथा सङ्क्रमण रोकथाममा सङ्घीय, प्रदेश र स्थानीय तहका बीचमा समन्वयको अभाव रहेको बताए । भारतसित जोडिएका नाकाबाट सङ्क्रमित बिना रोकटोक घर फर्किन थालेको भन्दै उनले अनिवार्य क्वारेन्टिनको व्यवस्था गर्नुपर्ने माग गरे । काठमाडौँ उपत्यका भित्रिनेको सम्बन्धमा सरकार गम्भीर नबनेको उनले आरोप लगाए ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेलले दुई सातायता कोरोना सङ्क्रमण दर बढेको जानकारी दिए । भारतमा सङ्क्रमण दर बढेसँगै नेपालमा पनि सङ्क्रमण बढ्दै गएकाले स्थिति जटिल बन्दै गएको सुनाए । भारतसित जोडिएका मुलुकका १३ सीमानाकामा ‘स्वास्थ्य परीक्षण केन्द्र’ स्थापना गरिएको उनले बताए । काठमाडौँ उपत्यका र अन्य छवटै प्रदेशमा गरी चार हजार आइसोलेसन बेड तयारी अवस्थामा राखिएको डा पोखरेलले बताए ।

“सबै ठाउँमा थप श्ययाको व्यवस्था गर्न निर्देशन दिएका छौँ”, उनले भने । अहिलेको अवस्थामा श्यया र औषधि अभाव नरहेको डा पोखरेलले समितिलाई जानकारी दिए । उपचारका लागि आवश्यक अक्सिजन आयात गर्न प्रक्रिया अघि बढाइएको उनले सुनाए । “तोकिएको श्वास्थ्य मापदण्डको पालना गरिएको छैन, अवस्था गम्भीर बन्दै गएको छ, यस्तै रहे जतिसुकै बेला पनि लकडाउन गर्नुपर्ने अवस्था आउन सक्छ”, काठमाडौँ उपत्यकामा बढ्दै गएको कोरोना सङ्क्रमणप्रति चिन्ता व्यक्त गर्दै डा पोखरेलले भने ।

You might also like

Comments are closed.