हुम्लामा निषेधाज्ञा खुल्यो

सिमकोट । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समितिले वैशाख २२ गतेबाट लगाइएको निषेधाज्ञा बिहीबार राति १२ बजेदेखि खुला भएकोे छ । असार १० गतेदेखि थप भएर बिहीबार राति १२ बजेसम्म लगाइएको निषेधाज्ञाको समय सकिएको हुँदा जिल्लाका सम्पूर्ण नागरिकले स्वास्थ्य मापदण्ड पूर्णरूपमा पालना गरेर निषेधाज्ञा खुला गरिने भएको प्रमुख जिल्ला अधिकारी गणेश आर्चायले जानकारी दिए ।

जिल्ला कोभिड व्यवस्थापन समितिले हुम्ला खुला गर्ने मौन स्वीकृति दिए पनि स्थानीयवासीले आफ्नो स्वास्थ्य मापदण्ड पूर्णरूपमा पालना गरी आफ्नो स्वास्थ्यको ख्याल आफैँले गर्नुपर्नेछ । आ–आफ्नो व्यवसाय सञ्चालन गर्दा सामाजिक दूरी कायम राख्ने, मुखमा मास्क अनिवार्य लगाउनुपर्ने, साबुनपानीले हात धुनुपर्नेलगायतका काम अनिवार्य गर्नुपर्ने देखिएको छ ।

शुक्रबारदेखि नेपालगञ्ज, सुर्खेतबाट उडान भर्दै आएका निजी हवाईजहाजले यात्रुलाई ओर्सान पाउने भएका छन् । यसअघि हवाईजहाजमा आवतजावत गर्दा जिल्ला प्रशासनको सिफारिश लिनुपर्ने बाध्यता थियो ।

footwear zone

जिल्लामा निषेधाज्ञा खुला भए पनि सङ्क्रमित कायमै रहेकाले थप जोखिम बढ्न सक्ने देखिएको छ । जिल्ला प्रशासनले निषेधाज्ञा खुला हुने जानकारी दिए पनि आवातजावत बढी हुने सदरमुकाम सिमकोटमा सात जना सक्रिय सङ्क्रमित रहेका छन् । जिल्लामा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ३४ रहेको छ भने एक हजार आठ जनामा परीक्षण गर्दा २५९ सङ्क्रमितमध्ये २२३ कोरोना सङ्क्रमणमुक्त भएर घर गइसकेका छन् ।

You might also like

Comments are closed.