संक्रमण फैलाउँदै लघुवित्त

­प्रकाश मिश्र, धनगढी । कैलालीको घोडाघोडी नगरपालिका–१ की राधाकुमारी साउदलाई महिला समूहको बैठकमा जानुपर्ने भएपछि चिन्ता थपिन्छ आजभोलि । राधा चारवटा लघुवित्त समूहमा आवद्ध छिन् ।

कोरोना संक्रमणको दोस्रो लहर बढ्दै गएपछि रोकथाम तथा नियन्त्रणका लागि कैलालीलगायत देशका ५० भन्दा बढी जिल्लामा निषेधाज्ञा जारी छ तर राधाले समूहको बैठकमा जानैपर्छ, नगए जरिवाना तिर्नुपर्ने हुन्छ । “जरिवाना मात्रले हुने भए घरमै बस्दथँे तर बैठकमा नगई हुँदैन”, राधाले गुनासो गरीन् । राधा मात्र होइन, जिल्लाका धेरै महिलालाई यही समस्या छ । अहिले उनीहरू महामारीका बीच पनि विभिन्न समूहका बैठकहरुमा गएर फर्कदा कोरोना संक्रमित भइन्छ कि भन्ने चिन्तामा छन् ।

केही दिनअघि मात्र कोरोना संक्रमणबाट कैलालीको बौनियामा शाखा कार्यालय रहेको एक लघुवित्तमा कार्यरत महिला कर्मचारीको मृत्यु भएको सुनेकी बर्दगोरिया गाउँपालिका–१ की रमिला चौधरी बैठकमा जानु नपर्ने भए हुन्थ्यो भन्छिन् । “हामीले समूह बनाएर लघुवित्तबाट ऋण लिएका छौँ, हामीले नियमित किस्ता तिर्दै आएका पनि छौँ तर अहिले अवस्था सामान्य छैन । जतातै कोरोना सङ्क्रमणको जोखिम छ । तैपनि समूहको बैठकमा सहभागी हुनैपर्छ”, रमिलाले भन्नुभयो । सङ्क्रमणको जोखिम बढिरहेको समयमा यस किसिमका बैठक नगर्न पटकपटक सुझाए पनि त्यसको पालना नभएको उनको भनाइ छ । बाध्यात्मक अवस्थामा बैठक बस्नुपर्दा मनमा एकदमै त्रास हुने गरेको रमिलाले बताइन् ।

footwear zone

संक्रमण नफैलियोस् भनेर जारी गरिएका निषेधाज्ञाका बीच जिल्लाका विभिन्न ठाउँमा लघुवित्त वित्तीय संस्थाले आफ्ना मासिक बैठक नियमित सञ्चालन गर्दा समुदायस्तरमा संक्रमणको जोखिम बढ्दै गएको गौरीगङ्गा नगरपालिका–९ का रामकुमार चौधरी बताउँछन् । लघुवित्तका कर्मचारी कम हुन्छन्, एकै कर्मचारीले दैनिक पाँचदेखि सात वटासम्म समूह भ्याउनुपर्दा उनीहरू विभिन्न गाउँ जानुपर्छ । संक्रमण फैलिएको गाउँमा समेत समूह बसाउन जानु पर्दा जोखिम बढ्दै गएको वित्तीय संस्थाका कर्मचारीहरु भनाइ छ । त्यसरी गाउँगाउँमा बैठक बसाउँदै हिँड्नु पर्ने र एकै ठाउँमा धेरै जनाको उपस्थिति रहने भएकाले त्यहाँबाट सङ्क्रमणको जोखिम बढ्दै गएको चौधरी बताँछन् ।

कोरोना महामारीका कारण जनजीवन त्यसै पनि त्रासमय छ । प्रशासनले जोखिम न्यूनीकरणका लागि निषेधाज्ञा जारी गरेको समयमा मानिसलाई दैनिक जीवनयापनमा खाद्यान्नदेखि औषधिको व्यवस्थापनमा समस्या परिरहेको बेला गाउँगाउँमा गएर समूह बसाएर किस्ताका लागि दबाब सिर्जना गर्नु लघुवित्तहरूको गलत कार्य भएको घोडाघोडी नगरपालिका–१ का व्यापारी राम सुनार बताउँछन् । यस्तो महामारीका समयमा यस किसिमका बैठकले किस्ता हाल्नुपर्ने चिन्ता र कोरोना संक्रमण फैलिने त्रासले गर्दा ऋण लिएका व्यक्ति, वित्तीय संस्थाका कर्मचारीलाई चिन्ता हुने गरेकाले सम्बन्धित निकायले यस किसिमका बैठक सञ्चालनमा निषेधाज्ञाभरि रोक लगाउनुपर्ने सुनारको सुझाव छ ।

गाउँगाउँमा आफूहरूले समूह बनाएर बिनाधितो ऋण लगानी गरेका कारण असुलीका लागि समूहको बैठक बसाउनुपर्ने बाध्यता रहेको कैलालीको बौनियामा रहेको नेशनल लघुवित्त वित्तीय संस्थाका शाखा प्रमुख अञ्चल चौधरीले बताइन् । “हामी कर्मचारी भएका कारण माथिको निर्देशन मान्नैपर्छ, हाम्रो संस्थाको परिपत्रअनुसार मैले कर्मचारी साथीहरूलाई गाउँगाउँमा गएर बैठक बसाउने, ऋण असुली गराउने जस्ता काममा खटाउने गरेको छु ।” गाउँगाउँमा जाँदा आफ्ना कर्मचारीहरुले स्वास्थ्य सावधानी अपनाउने गरेको उनको भनाइ छ । चौधरी भन्छिन्, “यो महामारीमा यसरी बैठक बसाउनु हुन्न भन्ने जानकारी हुँदाहुँदै पनि आफ्नो लगानीलाई सुरक्षित गर्नैपर्ने भएकाले कर्मचारी परिचालन गरिएको हो ।”

You might also like

Comments are closed.