मकवानपुर। मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिकाका जनप्रतिनिधिले यसअगावै प्रयोग गर्दै आएको सवारी साधनमा समेत अब कोरोना सङ्क्रमितका बिरामीलाई निःशुल्क बोक्न थालिएको छ । गाउँपालिकामा जनप्रतिनिधिले प्रयोग गर्दे आएको बा १ झ ९२०४ नंको सवारी साधन अबदेखि कोरोना सङ्क्रमित बिरामीलाई निःशुल्करूपमा अस्पताल लैजाने तथा ल्याउने काममा प्रयोग थालिएको गाउँपालिकाले जनाएको हो ।
गाउँपालिका क्षेत्रमा यातायातको असुविधालाई मध्यनजर गर्दै कोभिड–१९ का बिरामीलाई अस्पतालसम्म ल्याउन र लैजान सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त सवारी साधन प्रयोगमा ल्याइएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनीले जानकारी दिए । जनप्रतिनिधिले प्रयोग गर्ने एउटा सवारी साधन र वडा नं २ शिखरकटेरीमा रहेको मकवानपुरगढी स्वास्थ्यचौकीको एम्बुलेन्ससमेत निःशुल्क कोरोना सङ्क्रमितलाई लैजान र ल्याउन प्रयोग गरिएको उल्लेख छ ।
त्यसैगरी मकवानपुर जिल्लाको थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले प्रयोग गर्दै आएको सरकारी गाडी पनि कोरोना सङ्क्रमणको अवधिभर कोभिड–१९ का बिरामीको उपचारमा प्रयोग गर्न थालिएको छ । बा २ झ १२५९ नंको गाडी सङ्क्रमितको उपचारका लागि स्वास्थ्य संस्था लैजान र ल्याउनका लागि प्रयोगमा ल्याइएको प्रमुख प्रशासकीय अधिकृत पुरीले जानकारी दिए ।

प्रदेश राजधानी हेटौँडामा यसअगावै जिल्ला प्रशासन कार्यालय मकवानपुरले जारी गरेको निषेधाज्ञालाई थप कडाइ गर्ने जनाएको छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले निषेधाज्ञालाई थप कडाइ गर्ने निर्णय गरेको हो ।
निर्माणजन्य सामग्री ढुवानी गर्ने सवारी साधन मर्मत गर्ने सबै वर्कसप दैनिकरूपमा बिहान १० देखि ३ बजेसम्म मात्रै सञ्चालन गर्न पाइने भएको छ । त्यसैगरी ज्येष्ठ नागरिकलाई वितरण गर्दै आएको सामाजिक सुरक्ष भत्ता सम्बन्धित वडाका वडाध्यक्षले सम्बन्धित व्यक्तिको घरमै गई वितरण गर्ने व्यवस्था मिलाउने र अनधिकृत होल्ड गरिएका अक्सिजन सिलिण्डरलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले आवश्यक व्यवस्था मिलाउने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।




Comments are closed.