पोखरा । कास्कीको लेखनाथमा बन्न लागेको कोभिड डेडिकेटेड हस्पिटललाई लायन्सले सहयोग गरेको छ । लायन्स क्लब्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालका तर्फबाट बिहीबार ४० लाख रुपैयाँ बढीको स्वास्थ्य सामग्री सहयोग गरिएको सहयोग समिति संयोजक मोहनबाबु खड्काले जानकारी दिए ।
कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमको उपस्थितिमा पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीलाई सहयोग हस्तान्तरण गरिएको हो । साविक लेखनाथ नगरपालिकाको भवनमा सय बेड क्षमताकोे कोभिड हस्पिटल सञ्चालनमा आउँदैछ । महानगरको अग्रसरता तथा लायन्सको सहयोगमा हस्पिटल सञ्चालन हुन लागेको हो ।
मेडिकल बेड, हेड आइभी पोल, अटोक्लेभ मेसिन, अक्सिजन कन्सन्ट्रेटर मेसिन, बेड साइड लकर, क्र्यास काट ट्रली, ओभर बेड टेबल लगायत सामग्री हस्तान्तरण गरिएको खड्काले जानकारी दिए । सहयोगका लागि मेयर जिसीले धन्यवाद ज्ञापन गरे । कार्यक्रममा लायन्सका पूर्व गभर्नर धनराज आचार्य, ध्रुव थापा लगायतले बोलेका थिए ।






Comments are closed.