काठमाडौं । थप ८ हजार ९८० मा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १९ हजार ३५७ को पिसिआर तथा ७४८ को एन्टिजेन परीक्षण गरिएकामा क्रमशः ८ हजार ५९१ र ३८९ मा सङ्क्रमण पुष्टि भएको हो । योसँगै देशभर संक्रमितको कुल संख्या ५ लाख ५ हजार ६४३ पुगेको छ । हालसम्म २८ लाख ९७ हजार ५०३ को पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा ८ हजार ८४८ उपचारपछि निको भएर घर फर्किएका छन् । हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या ८ लाख ८३ हजार ६८४ पुगेको छ । कोरोना निको भएको दर ७५ दशमलव ८ प्रतिशत रहेको छ । यस्तै गत २४ घण्टामा थप १२९जनाको मृत्यु भएसँगै कुल मृतकको संख्या ६ हजार १५३ पुगेको छ ।

आजसम्म मुलुकभर सक्रिय संक्रमितको सङ्ख्या एक लाख नौ हजार ७४० रहेको छ । मन्त्रालयले उपलब्ध गराएको विवरणमा हालसम्म २१ लाख १३ हजार ८० ले कोरोना बिरुद्धको पहिलो मात्राको खोप लगाएका छन् । दोस्रो मात्रा खोप लगाउनेको सङ्ख्या ५ लाख १४ हजार २५३ पुगेको छ ।




Comments are closed.