कर्णाली । कर्णाली प्रदेशमा कोरोना भाइरसविरुद्ध पहिलो चरणमा नौ हजार ४२० जना अर्थात ८२ प्रतिशतले खोप लगाएका छन् । प्रदेश स्वास्थ्य सेवा निर्देशनालय, सुर्खेतका अनुसार लक्षित समूहमध्ये कतिपय गर्भवती तथा स्तनपान गराइरहेका महिला, हिमाली जिल्लाबाट जाडो छल्न तराई झर्ने लगायत कारण सबैले खोप लगाउन नपाएका हुन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कर्णालीका लागि ११ हजार ७८० जनालाई पुग्ने खोप पठाएको थियो तर लक्षित गरिएका दुई हजारभन्दा बढी स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविकाले खोप लगाएका छैनन् । पहिलो चरणमा छुटेकालाई दोस्रो चरणमा समावेश गर्ने निर्देशनालयको तयारी छ ।
प्रदेश स्वास्थ्य निर्देशक डा रवीन खड्काले पहिलो चरणमा माघ १४ देखि २४ गतेसम्म १२ वटा अस्पताललाई केन्द्र बनाएर लक्षित समूहलाई खोप लगाइएको बताए ।। सरकारले पहिलो चरणमा कोरोनाविरुद्धको पहिलो पङ्क्तिमा खटिने चिकित्सक तथा स्वास्थ्यकर्मी, अस्पतालका कर्मचारी, सरसफाइकर्मी, एम्बुलेन्स चालक, सङ्क्रमितको शव व्यवस्थापनमा खटिने सुरक्षाकर्मी, महिला स्वास्थ्य स्वयंसेविकालाई खोप लगाउने व्यवस्था मिलाएको थियो । खोप लगाएकामध्ये ३३ जनामा अवाञ्छित असर देखा परेको निर्देशक खड्काले जानकारी दिए। जुनसुकै खोप लगाउँदा सामान्य असर देखापर्ने हुँदा आत्तिनुपर्ने अवस्था नरहेको उनको भनाइ छ । तीमध्ये एकजना गम्भीर तथा ३२ जनामा सामान्य असर देखापरेको थियो ।

निर्देशनालयका अनुसार सुर्खेत दुई हजार ३४०, दैलेख एक हजार ८४३, जुम्ला एक हजार ४०, जाजरकोट ६७३, हुम्ला ४८५ र मुगुमा ४१७ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । त्यस्तै कालीकोट ८००, डोल्पा ३३०, रुकुम पश्चिम ८५० र सल्यानमा एक हजार दुईजनालाई कोरोनाविरुद्धको खोप लगाइएको छ । यो खोपको पहिलो मात्रा लगाएको २८ दिनपछि पुनः दोस्रो मात्रा लगाउनुपर्दछ । ‘कोभिशिल्ड’ नामक यो खोप भारतीय कम्पनी सेरम इन्स्टिच्युटले उत्पादन गरेको हो ।
विश्व स्वास्थ्य सङ्गठनबाट आपत्कालीन प्रयोगका लागि स्वीकृति पाएसँगै खोप लगाउन थालिएको हो । सङ्घीय सरकारले अब दोस्रो चरणमा ज्येष्ठ नागरिक, दीर्घरोगका बिरामी, वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरु, शरणार्थी, कूटनीतिक नियोगमा कार्यरत कर्मचारी, सञ्चारकर्मीलगायतलाई खोप लगाउने तयारी थालेको छ । कर्णाली प्रदेशमा पनि दोस्रो चरणमा खोप लगाउने व्यक्तिहरुको विवरण सङ्कलनको काम भइरहेको जनाइएको छ ।
कर्णाली प्रदेशमा हालसम्म कोरोना सङ्क्रमित सात हजार ५२८ मध्ये ३१ जनाको मृत्यु भएको छ । यहाँका विभिन्न प्रयोगशालामा गरी ९७ हजार २१० जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ । यसअघि प्रदेशका दुई स्थानमा एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको थियो । समुदायमा सङ्क्रमणको अवस्था यकिन गर्न अपनाइएको यस विधिबाट सुर्खेतको वीरेन्द्रनगर र दैलेखको दुल्लू नगरपालिकामा करीब तीन हजार ५०० जनाको परीक्षण गरिएको थियो । तीमध्ये दुई प्रतिशतमा मात्र सङ्क्रमण देखिएको थियो ।




Comments are closed.