दमौली । तनहुँको दमौली अस्पताललाई आधुनिक र सुविधा सम्पन्न बनाइने भएको छ । यसै क्रममा दाँत उपचारका लागि डिजिटल एक्स–रे मेशिन जडान गरिएको छ । पुरानो मेसिन विस्थापित गरी विभिन्न उपकरण थप गर्दै लग्ने क्रममा दन्त उपचारका लागि आधुनिक डिजिटल एक्सरेसहितको मेसिन जडान गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रदीपराज अधिकारीले जानकारी दिए ।
‘अस्पताललाई आधुनिक र सुविधा सम्पन्न बनाउने अभियानमा हामी छौं,’ उनले भने, ‘आगामी दिनमा अन्य उपकरण तथा प्रविधि पनि थप्नेछौं ।’ जिल्ला अस्पताल १५ बेड क्षमताको छ । यसलाई वृद्धि गरी ५० बेडको अस्पताल बनाउने तयारी रहेको अधिकारीले बताए । ‘शैय्या बढाउनका लागि डिपिआरको तयारी भइरहेको छ,’ उनले भने ।
ल्याबलाई व्यवस्थित गर्न आधुनिक मेसिन जडान गरिएको अधिकारीले जानकारी दिए । ‘अस्पतालमा इलेक्ट्रिक रेकर्डिङ सिस्टमको सुरुवात भएको छ,’ उनले भने, ‘अस्पताललाई पेपर लेस बनाउने अभियानमा हामी छौं । इलेक्ट्रिक रेकर्डिङ सिस्टम यसैको सुरुवात हो ।’

५ वटा भेन्टिलेटरसहितको १० बेडको आइसियु कक्ष बनाउन भवन तयार भइसकेको छ । सम्झौता गरेर इक्युपमेन्ट ल्याउन बाँकी रहेको अधिकारीले जानकारी दिए । आँखा उपचार कक्षलाई व्यवस्थित बनाउन लागिएको पनि उनले बताए । फोहर व्यवस्थापनका लागि अस्पतालले छुट्टै भवन बनाएको छ । ‘हस्पिटलबाट नसड्ने फोहर मैलालाई निर्मलीकरण गरेर बिक्री गर्ने कामको सुरुवात भएको छ,’ अधिकारीले भने ।

तस्बिरः कृष्ण न्यौपाने




Comments are closed.