महानगर खेलकूद विकास समितिका अध्यक्षमा गोदार

कास्की । पोखरा महानगर खेलकूद विकास समितिको अध्यक्षमा दीपक गोदार नियुक्त भएका छन् ।

पोखरा महानगरपालिका–१७ निवासी गोदारलाई महानगर खेलकूद विकास ऐन २०७५ को दफा ३ अनुसार कार्यपालिका बैठकको निर्णयानुसार बुधबार अध्यक्ष पदमा नियुक्त गरिएको महानगर शिक्षा महाशाखा निर्देशक हेमप्रसाद आचार्यले जानकारी दिए।
पर्यटकीय शहर पोखरामा खेलकूद विकास तथा खेल गतिविधिको अभिवृद्धिका लागि महानगरले खेलकूद ऐन तयार गरेको थियो । अध्यक्षको कार्यकाल तीन वर्षको हुनेछ ।

नवनियुक्त अध्यक्ष गोदार राष्ट्रिय तथा अन्तर्राष्टिय खेलाडी सङ्घ कास्कीको अध्यक्ष र मोयाथाई किक बक्सिङ्का प्रशिक्षक हुन् । उनि कराँतेका अन्तर्राष्ट्रिय पदक विजेता खेलाडी समेत हुन् । अध्यक्षमा नियुक्त भएपछि गोदारले आफ्नो उर्जाशील समय खेलकूदमा समर्पित गरेको बताउँदै पोखरालाई खेलकूद नगरीको रुपमा चिनाउन र खेलाडी उत्पादनमा विशेष काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।

footwear zone

अध्यक्ष गोदारले यसअघि जिल्ला खेलकूद विकास समितिको कोषाध्यक्षको जिम्मेवारी सम्हालेका थिए । गोदार नेकपा एमाले निकट खेलकूद महासङ्घ कास्कीको संयोजक समेत हुन् । नेपाल खेलकूद पत्रकार मञ्च गण्डकीले विसं २०७५ मा आयोजना गरेको पोखरा स्पोर्टस अवार्डमा गोदार उत्कृष्ट प्रशिक्षक घोषित भएका थिए । उनको प्रशिक्षणमा नेपाली खेलाडीले मकाउ, थाइल्याण्ड, कोरिया,टर्की लगायतका देशमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागी भएका थिए ।

You might also like

Comments are closed.