पोखरा । व्यवसायी देवबहादुर ज्वारचनले अक्सिजन प्लान्टका लागि २५ लाख रुपैयाँ सहयोग प्रदान गरेका छन् । बतास फाउण्डेसनको अग्रसरतामा पोखरामा निर्माण हुन लागेको अक्सिजन प्लान्टलाई ज्वारचनले सहयोग गरेका हुन् ।
ज्वारचन क्वालिटी माइनिङ तथा क्वालिटी ग्रिट क्रसर प्रालिका सञ्चालक हुन् । कोरोना महामारीको समयमा अक्सिजन अभावले धेरैको ज्यान गइरहेको अवस्थामा अक्सिजन प्लान्ट निर्माण हुन लागेकाले आफूले सहयोग गरेको उनले बताए ।
‘अक्सिजन प्लान्ट निर्माणमा योगदान गर्न पाउँदा खुसी लागेको छ,’ उनले भने । कोरोना महामारीको समयमा सबैले आ–आफ्नो ठाउँबाट सक्दो सहयोग गर्नुपर्ने उनले बताए ।

अक्सिजन प्लान्ट निर्माणका लागि सहयोग आउने क्रम जारी रहेको निर्माण समितिका कोषाध्यक्ष तथा प्रवक्ता नारायणप्रसाद पौडेलले जानकारी दिए । ‘सहयोगको प्रतिबद्धता आइरहेको छ र प्रतिबद्धता अनुसारको रकम खातामा जम्मा भइरहेको छ,’ उनले भने ।





Comments are closed.