काभ्रेपलाञ्चोक । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सबै पक्ष मिलेर पर्यटन प्रवद्र्धनमा लाग्नुपर्ने बताएका छन् । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–१२ र सिन्धुलीको घ्याङ्लेक गाउँपालिका–४ को सिमीस्थल घ्याङ्डाँडामा ताग्लुङ काग्यु पाल फाउण्डेशनद्वारा निर्माण हुन लागेको विद्यालय, स्वास्थ्य केन्द्र, वृद्धाश्रमलगायत गुम्बा परियोजनाको शिलान्यास कार्यक्रमान आज उहाँले सबै पक्ष एकताबद्ध भएर पर्यटन प्रवद्र्धनमा लाग्नुपर्ने धारणा राखेका हुन् ।
मन्त्री पौडेलले सबै राजनीतिक दल, समाजका अगुवा तथा बौद्धिक वर्ग मिलेर पर्यटन प्रवद्र्धन एवं विकासका लागि ‘प्याकेजमा कार्यक्रम’ ल्याउन आग्रह गरे । उनले भने, “गरे सबै थोक हुन्छ, अहिले नगरे कहिले गर्ने रु विकासमा सबै पक्ष एकताबद्ध हुनु आवश्यक छ ।” विकासबारे आफूलाई घचघच्याउन र जिम्मेवारी दिइरहन उनले जनप्रतिनिधिसँग आग्रह गरे ।
मन्त्री पौडेलले नेपालका सुन्दर–हरियाली डाँडालाई आन्तरिक र बाह्य पर्यटक सुहाउँदो बनाउनुपर्ने आवश्यकता औँल्याए । “हाम्रा सुन्दर–हरियाली डाँडाकाँडामा यातायात पु¥याउनुपर्छ, व्यवस्थित होमस्टे बनाउनुपर्छ, यसले हाम्रो पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्नेछ”, उनले भने । मन्त्री पौडेलले सरकारले शिक्षा, स्वास्थ्य, रोजगारी र खाद्यान्नलाई प्राथमिकतामा राखेर काम गर्ने बताए । उनले भने, “नेपालको शिक्षा, स्वास्थ्य र पर्यटनमा सुधारको आवश्यकता छ, यसमा हामी गम्भीर छौँ ।” घ्याङ्डाँडामा निर्माण हुन लागेको विद्यालय, स्वास्थ्य केन्द्र, वृद्धाश्रमलगायत गुम्बा परियोजनामा आइपर्ने प्रशासनिक तथा कानूनी अड्चनमा आफूले सहयोग गर्ने उनले प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा संविधनसभा सदस्य सूर्यमान दोङ, सांसद गङ्गाबहादुर दोङ, धर्मगुरु खेन रिम्पोछे जे साम्तेन ड्रोडेल दोर्जेलगायतले शुभकामना व्यक्त गर्दै विद्यालय, स्वास्थ्य केन्द्र, वृद्धाश्रमलगायत गुम्बा परियोजनामा सहयोगको प्रतिबद्धता जनाएका थिए ।




Comments are closed.