व्यवसायीद्वारा राष्ट्र बैंक कार्यालयमा धर्ना

सुर्खेत । सुर्खेतका उद्योगी व्यवसायीले बढ्दो ब्याज, अनियन्त्रित तरलता अभावविरुद्ध वीरेन्द्रनगरस्थित नेपाल राष्ट्र बैंक प्रादेशिक कार्यालयमा धर्ना दिएका छन् । सुर्खेत उद्योग वाणिज्य संघको अगुवाइमा आज दुई बुँदे माग राख्दै व्यवसायीले एक घण्टा धर्ना दिएका हुन् ।

संघका अध्यक्ष लक्ष्मण कँडेलले बैंकले यसअघि प्रवाह गरिएका कर्जामा ग्राहकको माग बमोजिम न्यूनतम ब्याजदर कायम गरी निश्चित प्रतिशत पुनःकर्जा निर्धारण गर्न र यस वर्ष ब्याजको किस्ता तिर्ने समय छ महिना समय थप गर्नुपर्ने माग राखेर राष्ट्र बैंक कार्यालयमा धर्ना बसेको बताए।

“विदेशी मुद्रा सञ्चितिमा परेको चाप कम गर्न स्वदेशमै उत्पादन बढाउनका लागि निजी क्षेत्रलाई सहयोग र सहुलियत दिन जरुरी छ”, उनले भने, “अर्थतन्त्रलाई थप संकटमा जान नदिन बैंकले आफ्नो नाफा नोक्सन मात्र नहेरी निजी क्षेत्रको अस्तित्व जोगाउन अग्रसर हुनुपर्छ ।” संघले ज्ञापत्रपत्रमार्फत बढ्दो आर्थिक संकट समाधान गर्न राष्ट्र बैंकलाई हस्तक्षेप गर्न आग्रह गरेको छ ।

footwear zone

सुर्खेतका व्यवसायीले कोभिड-१९ ले थलापरेको व्यवसायमाथि बैंकले एक वर्षदेखि कर्जा लगानी ठप्प पार्नु र बजारमा आर्थिक गतिविधि शून्य प्रायः हुँदा घरभाडा तिर्न, र कर्मचारी–मजदुरलाई पारिश्रमिक दिन कठिनाइ भएको गुनासो गर्दै आएका छन् ।

You might also like

Comments are closed.