काठमाडौं । गुल्मीको धुर्कोट गाउँपालिकाले घरको बीमा र विद्युतीय चुलो खरिदमा छुटदेखि निःशुल्क आवासीय शिक्षासम्मको निर्णय गरेको छ ।
नवनिर्वाचित गाउँपालिका अध्यक्ष र उपाध्यक्षले सोमबार पदभार ग्रहण गर्दै विद्युतीय चुलो खरिद र घरको बीमा गराउँदा ५० प्रतिशत छुट दिने निर्णय गरिएको हो ।
प्राकृतिक विपत्तिबाट हुने आवासको क्षतिलाई राहत उपलब्ध गराउन घरको बीमा गर्ने व्यवस्था मिलाउने र बीमा बापतको प्रिमियम शुल्कमा ५० प्रतिशत अनुदान गाउँपालिकाले दिने निर्णय गरिएको अध्यक्ष भुपाल पोखरेलले जानकारी दिए ।

“प्राकृतिक विपत्तिले विगतमा धेरै घरको क्षति भएको छ, जसलाई बीमामार्फत केही राहत उपलब्ध गराउन सक्छौ”, अध्यक्ष पोखरेलले भने,“संविधानमा उल्लेख गरिएको आवासको अधिकार गाउँपालिकाले पूरा गर्दैछ ।”
पहिलो बैठकबाट दलित परिवारका छोराछोरीलाई एसइई पछिको तीन वर्षे प्राविधिक शिक्षामा १० जना विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था गर्ने पनि निर्णय गरिएको छ ।
विभिन्न कारणले आमाबुबा नभएको २० जना विद्यार्थीलाई कक्षा १२ सम्म निःशुल्क शिक्षाको व्यवस्था गर्ने निर्णय गरिएको पालिका उपाध्यक्ष सीता गिरीले जानकारी दिइन्र ।




Comments are closed.