पोखरा । पोखरामा पछिल्लो समय डायमण्डप्रति ग्राहकको आकर्षण तथा चासो बढेको कञ्चन क्यापिटल प्रालिका अध्यक्ष बिमलमान गुभाजूले बताए । पोखरामा कञ्चन क्यापिटल प्रालिद्वारा आयोजित डायमण्ड मेलाले डायमण्ड (हिरा)प्रति आकर्षण अझै बढाएको उनको भनाई छ । ‘प्रालिले वर्षेनी मेला आयोजना गर्दै आइरहेको छ,’ उनले भने, ‘यो मेलाले पोखरा क्षेत्रमा हिराप्रति विशेष चासो बढेको पाएका छौं ।’
मेला आएर विशेष गरी साना साना हिराका धातुहरु खरिद गर्ने क्रम बढेको उनले जानकारी दिए । ‘हिराका सानासाना टप तथा औठीहरु खरिद भइरहेको छ । सुन एक्स्चेन्ज गरेर हिरा लिनेहरु पनि देखिएका छन्,’ उनले भने, ‘न्यु जेनेरेसन हिरातर्फ आकर्षित भएको देखिन्छ ।’ मेला आयोजना गर्नुको उद्देश्य पनि डायमण्डबारे जानकारी गराउने र चासो बढाउने नै हो ।’
हिराको मूल्य सुनको जस्तो नबढेपनि महत्व भने बढ्दो रहेको प्रालिका निर्देशक तथा पञ्चरत्न आभूषणका सञ्चालक शोभितमान बुद्धाचार्य बताउँछन् । ‘हिरा महत्वपूर्ण पत्थर हो । धार्मिक महत्व पनि रहन्छ । महंगो धातु पनि हो,’ उनले भने, ‘सानो लगाउने तर डायमण्ड नै लगाउने भन्ने सोच पनि बढेको देखिन्छ ।’ मेलामा हिरा एक्स्चेन्जको सुविधा पनि उपलब्ध छ । हिरा एक्स्चेन्ज गर्दा १० प्रतिशतमात्रै सेवा शुल्क लाग्ने उनले जानकारी दिए । हिरा बिक्री गरेर नगद लिँदा १५ प्रतिशत शुल्क लाग्छ । यही सेवा शुल्कबाट कालिगढको खर्च, कार्यालय तथा कर्मचारी खर्च एवं करसमेत समावेश हुने उनले बताए । पोखरामा हिरा बिक्री गर्ने थोरै पसलहरु मात्रै छन् ।

कञ्चन क्यापिटलमा कञ्चन पिएम ज्वेलर्स, कञ्चन आभुषण प्रालि, कृष कञ्चन ज्वेलसी प्रालि, कञ्चन ज्वेलर्स प्रालि, पञ्चरत्न आभुषण प्रालि र कञ्चन सिल्भर प्रालि आबद्ध छन् ।




Comments are closed.