पोखरा । पोखराको पर्यटन प्रवद्र्धन गर्न युवाहरुको ‘डुलुवा’ समूह एक महिने भारत यात्रामा निस्केको छ । यस अगाडी नेपालका विभिन्न ठाउँमा पुग्ने गरेको समूहले पहिलोपटक विदेशमा पर्यटन प्रवद्र्धनमा निस्केको हो । पोखरा पर्यटन व्यवसायीमा संलग्न रहेका १९ जना युवाहरु प्रवर्द्धनका लागि भारतका विभिन्न सहरहरु हुँदै लदाखसम्मको यात्रामा निस्केका हुन् ।
पोखरासहित नेपालका प्रमुख पर्यटकीय गन्तब्यका प्रवद्र्धनात्मक गर्दै टोलीले नेपालको महेन्द्रनगर भारतको अमृतसहर, कश्मिर, कार्गिल, लदाख, मनाली, सिम्ला, देहरादुन, नैनीताल, हलपुर हुदै बुटलबाट फर्किने टोली प्रमुख योगेश भट्टराइले जानकारी दिए ।
उनले यात्रा गर्दा फरक परिवेश संस्कार, संस्कृतिको अध्ययन गर्ने, एक र अर्को ठाउँ बारेमा जानकारी आदानप्रदान गर्न आफूहरु सफल हुने बताए । उनले घुम्ने संस्कृतिको विकासका लागि यात्रा तय गरेको बताउँदै पहिले देश अनि विदेश भन्ने उद्देश्यसहित टोलीले नेपालका ७० जिल्लाको यात्रा सकेर यस अगाडी नै सकेको बताए ।

विदाइ कार्यक्रममा पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले सुरक्षालाई ध्यानमा राख्दै यात्रा गर्न शुभकामना दिए । उनले भारतका लामो यात्रा गर्दा पोखरा र नेपालको ठुलो विज्ञापन हुने बताए । उनले पोखरा साहासिक गतिविधिको शहर भएकाले डुलुवा समूहले भारतका विभिन्न सहरमा साहासिक गतिविधिको प्रवद्र्धन गर्ने बताए ।
भारतीय पेन्सन क्याम्पका पोखराका लेफ्टिनेन्ट कर्णेल शशांक त्रिपाठीले भ्रमणले भारत र नेपालको मैत्री सम्बन्धमा अझ राम्रो बताउने बताए । उनले भारतका प्रसिद्ध र परम्परागत, ऐतिहासिक सांस्कृतिक महत्वका स्थानको छनोट गरेकोमा खुसि व्यक्त गरे ।
नेपाल पर्यटन बोर्डका पूर्वकार्यकारी सदस्य गणेशबहादुर भट्टराईले घुमघाम संस्कृतिले पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले आफुले करिब १५ वर्ष पहिले नै त्यस क्षेत्रको भ्रमण गरेको बताए । त्यस क्षेत्रमा पहिरो जाने सम्भावना भएका कारण ख्याल गरेर भ्रमण गर्न सुझाब दिए । उनले पोखराको फेवातालदेखि भारतको प्याङगन लेकसम्म जान पाउनु एउटा अविश्मरणी यात्रा हुने बताए ।
समूहका अर्का सिनियर टोली प्रमुख सुनिल भट्टराइले यात्राको लक्ष्य भारतीय बजार माझ नेपालको पर्यटनलाई प्रवद्र्धन गर्नु रहेको बताए । कार्यक्रमलाई नेपाल पर्यटन बोर्ड, पोखरा पर्यटन परिषदलगायतको प्रवद्र्धनात्मक सहयोग गरेको डुलुवाको ‘राइड एण्ड ग्लाइड’ नामकरण गरिएको यात्राको टोलीमा नौ जना प्याराग्लाइडिङ पाइलटसमेत रहेको समूहका सदस्य विकास भट्टराइले जानकारी दिए ।
उनले सन् २००८ देखि ‘डुलुवा’ नाम जुराएर घुमघाम गर्दै आएको बताए । समूहले पर्यटन प्रवद्र्धनसँगै आवश्यकता हेरेर विद्याथीहरुलाई न्यानो कपडा, स्कुलका सामग्री र खेल सामग्री वितरण गर्दै आएको बताए । टोली प्रमुख योगेश भट्टराइलाई भारतीय पेन्सन क्याम्पका पोखराका लेफ्टिनेन्ट कर्णेल शशांक त्रिपाठीले भारतको र पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले नेपालका झण्डा हस्तान्त्ररण गर्दै विदाइ गरेका थिए ।




Comments are closed.