तनहुँ । देवघाट गाउँपालिकाका–१ मा राष्ट्रिय प्रसारण लाइनको विद्युत पुगेको छ । वडा नं ५ स्थित देवपुरबाट ११ केभी लाइनमार्फत कालीटार, कोटा र गोपीटारमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुगेको हो । त्यस क्षेत्रमा अहिले लघु जलविद्युत्मार्फत विद्युत आपूर्ति भइरहेको थियो ।
राष्ट्रिय ग्रिड पुगेकाले अब त्यस क्षेत्रको विद्युत् आपूर्ति भरपर्दो र गुणस्तरीय रहेको तनहुँ विद्युतीकरण आयोजनाका साइट इञ्चार्ज लक्ष्मण रेग्मीले जानकारी दिनुभयो । जिल्लामा निर्माणाधीन १४० मेगावाटको तनहुँ जलविद्युत आयोजनाको ग्रामीण विद्युतीकरण कार्यक्रमअन्तर्गत विद्युत् बिस्तार गरिएको हो । नेपाल विद्युत् प्राधिकरणमार्फत कार्यान्वयन भइरहेको कार्यक्रमबाट जिल्लालाई पूर्ण विद्युतीकरण गर्ने लक्ष्य रहेको उनले बताए ।
त्यस क्षेत्रमा विद्युत् आपूर्तिका लागि निर्माण गरिएको ११ केभी लाइन र तीन वटा ट्रान्सफर्मर आज सञ्चालन गरिएको आयोजनाका साइट इञ्चार्ज रेग्मीले जानकारी दिए । “लाइन र ट्रान्सफर्मर जडान गरी चार्ज गरेका छौँ, तनहुँ वितरण केन्द्रले अब उपभोक्ताको घरघरमा मिटर जडान गर्नेछ”, उनले भने, “लाइन पुगेपछि त्यस क्षेत्रका करीब ५०० घरधुरी लाभान्वित हुनेछन् ।”

विद्युत आपूर्तिका लागि कालीटार, कोटा र गोपीटारमा एक÷एक वटा ट्रान्सफर्मर राखिएको छ । केही दिनअघि घिरिङ गाउँपालिका–१ मा पनि राष्ट्रिय प्रसारण लाइन पु¥याइ विद्युत आपूर्ति शुरु गरिएको छ । आयोजनाको सामाजिक विकास कार्यक्रमअन्तर्गत जिल्लामा विद्युतीकरण गर्न प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयमार्फत ग्रामीण विद्युतीकरण तथा वितरण प्रणाली सुदृढीकरण आयोजना कार्यान्वयन गर्न इष्टइण्डिया उद्योग÷वाइवा इन्फ्राटेक जेभीसँग १३ मङ्सिर २०७५ मा ठेक्का सम्झौता भएको थियो ।
ठेक्का सम्झौताको रकम ६१ लाख ५३ हजार अमेरिकी डलर रु चौध करोड ८८ लाख रहेको छ । ठेकेदार कम्पनीले विद्युतीकरण नभएका क्षेत्रको पहिचान गरी सर्भे तथा डिजाइन सम्पन्न गरिसकेको छ । कम्पनीले ३३÷११ केभी वितरण लाइन निर्माण गर्नेछ । उक्त कार्यक्रमअन्तर्गत नै बन्दीपुर गाउँपालिकाको सराङघाट र घिरिङ गाउँपालिकामा सबस्टेशन निर्माणाधीन छन् । ग्रामीण विद्युतीकरणअन्तर्गतका सम्पूर्ण काम यसै आर्थिक वर्षमा सक्ने लक्ष्य राखिएको छ ।




Comments are closed.