नेपाली दूतावास बेलायतको आयोजनामा नेपाल विकास सम्मेलन

लण्डन । नेपाली दूतावास बेलायतको आयोजनामा शनिबार नेपाल विकास सम्मेलनसम्पन्न भएको छ । सम्मेलनमा संयुक्त अधिराज्यका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले बेलायतमा रहेका नेपाली समुदायले नेपाल र बेलायतबीचको सम्बन्धलाई थप प्रवद्र्धन गर्न योगदान गरिरहेको बताए । नेपाल सरकारले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियान र संयुक्त राष्ट्रसङ्घको दिगो विकासका लक्ष्यहरु हासिल गर्न विदेशमा रहेर विभिन्न क्षेत्रमा दक्षता तथा अनुभव हासिल गरेका नेपाली विज्ञहरुको भूमिका महत्वपूर्ण हुने उनले बताए ।

सम्मेलनमा बेलायतको लीड्स विश्वविद्यालयका प्राध्यापक डा. सूर्यप्रसाद सुवेदीले ‘नेपालको विकासका लागि आर्थिक कुटनीति’ सम्बन्धमा प्रकाश पारेका थिए। यसैगरी, हडर्सफिल्ड विश्वविद्यालयका प्राध्यापक डा. पदम सिम्खडाले ‘नेपाली आप्रवासी कामदारको स्वास्थ तथा हित’का विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । अक्सफोर्ड विश्वविद्यालयमा प्राध्यापनरत डा कृष्णप्रसाद अधिकारीले ‘नेपालका सामुदायिक सङ्घ संस्थाहरुका कार्य र त्यसको स्थानीय सरकारसँगको सम्बन्ध’ का बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । सम्मेलनमा यूनिर्भसिटी कलेज अफ लण्डनमा प्राध्यापनरत डा पुनम यादवले ‘तथ्याङलाई लिङ्गको आधारमा छुट्याउन किन आवश्यक छ ’ भन्ने विषयमा प्रस्तुति गरेका थिए ।

यस्तै क्विन एलिजाबेथ अस्पतालमा कार्यरत तथा आर्डेन विश्वविद्यालयमा प्राध्यापनरत डा. बच्चुकैलाश कैनीले ‘नेपालमा स्वास्थ्य क्षेत्रको विकास’ का बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । बेलायतको ट्रान्सपोर्ट फर लण्डनमा मुख्य यातायात मोडेलरका रुपमा कार्यरत डा वीरेन्द्र श्रेष्ठले ‘काठमाडौँको ट्राफिक व्यवस्थापनका लागि बेलायतको अनुभव’ सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए । बेलायतको रोयल बोटानिक गार्डेन एडिनबरामा कार्यरत जैविक विविधतासम्बन्धी बैज्ञानिक डा. भाष्कर अधिकारीले ‘नेपालको विकासमा वनस्पति विज्ञानसम्बन्धी संयुक्त अनुसन्धानको महत्व’ सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए ।

footwear zone

सम्मेलनमा बेलायतका दुई प्रतिष्ठित अक्सफोर्ड र हल विश्वविद्यालयबाट महाविद्यावारिधि उपाधिद्वारा विभुषित प्राध्यापक डा सूर्यप्रसाद सुवेदीलाई राजदूत डा सुवेदीले अभिनन्दन गरेका थिए ।

You might also like

Comments are closed.