वाटर फ्रन्ट रिसोर्टमा असोज २३ गते दसैं महोत्सव हुँदै

पोखरा । पर्यटकीय नगरी पोखरामा दसैं महोत्सव हुने भएको छ । पोखराको वाटर फ्रन्ट रिसोर्टमा असोज २३ गते महोत्सव हुने भएको हो । नेवाः खल कास्की, नेवाः मिसा पूच कास्की, नेवाः ल्याम्ह पूच कास्की र वाटर फ्रन्ट रिसोर्टको संयुक्त आयोजनामा महोत्सव गर्न लागिएको हो ।

दसैं संस्कृतिको संरक्षण, पर्यटन प्रवद्र्धन तथा आत्मीयता अभिवृद्धिको लक्ष्यसहित महोत्सव आयोजना गर्न लागिएको नेवाः खल कास्कीका अध्यक्ष अशोक पालिखेले जानकारी दिए । ‘महोत्सव अन्तर्गत चंगा चैट प्रतियोगिता, नेवारी खाना र नेवारी संस्कृतिको प्रदर्शन गरिनेछ,’ उनले भने ।

वाटर फ्रन्ट रिसोर्टको परिसरमा असोज २३ गते दिउसो २ बजेबाट शुरु हुने महोत्सव साँझ ७ बजेसम्म चल्नेछ । महोत्सवमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । महोत्सवमा राखिएको खाना र पेय पदार्थका लागि एक हजार रुपैयाँमा एउटा कुपन उपलब्ध हुने वाटर फ्रन्ट रिसोर्टका प्रवन्ध निर्देशक दिवाकर राजकर्णीकारले जानकारी दिए । ‘महोत्सवमा सहभागी भएर दसैंको आगमनलाई उल्लासमय ढंगले स्वागत गर्ने हाम्रो प्रयत्नमा सहभागी हुन हार्दिक अपील गर्दछौं,’ उनले भने ।

footwear zone

नेपालीहरुको महान पर्व दसैंको अवसरमा आयोजना हुने महोत्सवमा आन्तरिक पर्यटकको आकर्षण हुनेमा आफूहरु विश्वस्त रहेको राजकर्णीकारले बताए । ‘पर्वहरुले मानिसको जीवनमा उमंग ल्याउँछ । उत्साह थप्छ । आपसी भाइचारा वृद्धि गर्न सहयोग पुर्याउँछ,’ उनले भने, ‘संस्कार र संस्कृतिको संरक्षणमा योगदान गर्छ । त्यसैले कुनै पनि जीवन्त समाज समयको अन्तरालमा पर्वको आयोजनमा जुटछ । हामीले युगौं अघिदेखि मनाउँदै आएको विजया दशमीका बारे जे जस्ता किम्बदन्तीहरु रहेको भए पनि समाजमा सद्भाव स्थापना गर्ने, सामाजिक सम्बन्धलाई सुदृढ पार्ने तथा समाजमा उत्साह र उमंगको रंग भर्ने महान उद्देश्यबाट निर्देशित छ । यही उद्देश्य अनुसार महोत्सव आयोजना गरिएको हो ।’

You might also like

Comments are closed.