खलङ्गा । जुम्लाको तातोपानी गाउँपालिको– १ स्थित तरापी लेकमा आगलागी हुँदा एक हजार स्याउका बिरुवा जलेर नष्ट भएका छन् । सो वडाका चार स्थानीय बासिन्दाका करीब एक हजार स्याउका बिरुवा आगलागीबाट नष्ट भएको गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले बताए ।
यहाँका स्थानीयवासीले दुःख गरेर हुर्काएका बिरुवा आगोले खाएपछि किसान चिन्तित भएका वडाध्यक्ष पे्रमबहादुर कठायतले बताए । उनले भने, “पानीको चरम अभाव भएको सो वडाको तरापी गाउँका किसानले बोकेरै सिँचाइ गरेर हुर्काएका एक हजार बढी स्याउका बिरुवा नष्ट भएका छन् ।” गाउँका चार जना किसानको बगैँचामै आगलागी भएको छ ।
सो बगैँचामा रहेको घाँस जलेर स्याउका बिरुवा काँटछाँट र व्यवस्थापन गरिएका स्याउका बिरुवा नष्ट भएको वडाध्यक्ष कठायतले बताए । स्याउका बिरुवासँगै बस्तुभाउलाई खुवाउन जम्मा गरिएको घाँस र एउटा गोठसमेत जलेको छ । तरापी राँकाको मौसमी बस्ती हो । अहिले यहाँका किसान चिसो हिउँद कटाउन गाउँ झरेका छन् । अनेक कष्ट गरी हुर्काएर फल्न थालेका स्याउका बिरुवा आगोले खाएको र अहिलेसम्मको सबै मेहनत खेर गएको किसाल तुल धरालाले बताए ।

लेकमा चिसो बढेपछि गाउँ झरेका किसानको बगैँचा एकाएक आगोले सखाप पारेपछि यहाँका किसान चिन्तित भएका छन् । तीन घण्टा पानी बोकेर सिँचाइ गरी हुर्काएको बगैँचा नष्ट भएपछि आफूहरु चिन्तित भएको धरलाले दुखेसो पोखे । किसानले स्याउबाटै जीवन फेरिने आशा गरेका थिए ।
एक्कासी यति ठूलो विपत्ति आइलाग्यो अब राहतका लागि समन्वय गरिने गाउँपालिका अध्यक्ष न्यौपानेले बताए । छिट्टै कार्यपालिकाको बैठकबाट निर्णय गरी राहत उपलब्ध गराउने गाउँपालिकाले जनाएको । आगलागीबारे अनुसन्धान भइरहेको वडा कार्यालयले जनाएको छ ।




Comments are closed.