पोखरामा फिर्के अतिक्रमणः खोलामाथि संघसंस्था, विद्यालय तथा व्यक्तिगत घर

कास्की । पर्यटकीय सहर पोखरास्थित बजारको मध्य भाग भएर बग्ने फिर्के खोलाको प्राकृतिक बहाव पत्ता लगाउने गरी सुरु गरिएको सिमाङ्कनको काम सकिएको छ । पोखरा महानगरपालिकाले खोलाको प्राकृतिक बहाव पत्ता लगाउने उद्देश्यले गत साउन ३ गतेदेखिी खोलाको सिमाङ्कन गर्न सुरु गरेको थियो । महानगरले एक महिना लगाएर काम गरेको हो । यही भदौ ३ गते सिमाङ्कनको सबै काम सम्पन्न भएको हो ।

पोखरा–१७ बैदामस्थित गाईघाटबाट सुरु गरिएको सिमाङ्कन कार्य पोखरा–१८ को अधेँरीकुनामा दुईवटा खोल्सी जोडिएको ठाउँभन्दा माथिसम्म पुगेर सकिएको सिमाङ्कन कार्यको नेतृत्व गरेका महानगरपालिकाका सर्वेक्षक वासुदेव पौडेलले बताए ।

पोखराको मध्यभाग भएर बग्ने फिर्केमा मानवीय अतिक्रमण बढेको छ । खोलाको मापदण्डभित्र व्यक्तिगत तथा सार्वजनिक भवन बनाइएका छन् । सिमाङ्कनका क्रममा खोलामाथि घरघरै घर बनेका पाइएको पौडेलले बताए । नाप जाँचका क्रममा खोलामाथि अविश्वासिलो ढङ्गले अतिक्रमण गरिएको, स्थायी संरचना निर्माण गरिएको र प्रदूषणलगायतका अवस्था भेटिएको उनले बताए ।

footwear zone

‘महानगरले हामीलाई फिर्केको सिमाङ्कनको जिम्मेवारी दिएको थियो । सो जिम्मेवारी सबैको साथ र सहयोगबाट सम्पन्न गरेका छौँ । फिर्के अतिक्रमण गरी खोलामाथि सामाजिक सङ्घसंस्था, विद्यालय तथा व्यक्तिगत घर तथा संरचना बनाएको पाइयो,’ उनले भने ।

पौडेलले सिमाङ्कन भएको क्षेत्रमा पाँच सय ८४ पिल्लर तथा दुई सय ३९ चिह्न खोलाको दायाँबायाँ गाडिएको बताए । खोलाको नापजाँचका क्रममा एक सय ४७ भवन मापदण्ड बाहिर निर्माण गरिएको पाइएको बताइन्छ । फिर्केको अतिक्रमण गरी २५ वटा सामाजिक संघ संस्थाका भवन, ८७ कच्ची र ३५ व्यक्तिगत पक्की घर निर्माण गरिएको पाइएको सर्वेक्षक पौडेलले बताए । अतिक्रमण गरेर निर्माण गरिएको संरचनामध्ये केहीको आधा भागनै परेको बताइन्छ ।

बर्खाको समयमा फिर्के खोलामा सिमाङ्कनको काम धेरैनै जटिल भएको बताइन्छ । कतिपय स्थानमा चिह्न लगाउनै गाह्रो भएकाले थप वास्तविक सिमाङ्कनका लागि डिजिपिएस(सेटलाइट) प्रविधि राम्रो हुने बताइन्छ । ‘हामीले अहिले टेपबाट नाप जाँच गरेका छौँ । डिजिपिएस प्रविधिले मापन गर्नसकेको खण्डमा एक इनच पनि दायाँबायाँ हुँदैन । अझ सही डाटा प्राप्त हुन्छ, यसबारेमा महानगर प्रमुखसँग छलफल गर्नेछौँ,’ उनले भने ।

महानगरले पहिलो चरणमा खोला भागको यकिन गरिसकेपछि दिगो पर्यटन विकास परियोजनाअन्तर्गत फिर्के खोलाको संरक्षण, सम्वद्र्धन र विशेष सौन्दर्यीकरणको कार्यक्रम सुरु गर्ने महानगरपालिकाका प्रमुख धनराज आचार्यले बताए । उनका अनुसार फिर्के खोलामाथि निर्माण गरिएका अतिक्रमित संरचना हटाउनका लागि दोस्रो चरणमा ३५ दिने सूचना जारी गरिने छ । महानगरले यसलाई फिर्के कोरिडोरको रूपमा विकास गर्ने र दुवैतर्फ साइकल लेनसहितको पूर्वाधार निर्माण गरिनेछ ।

प्रमुख आचार्यले भने, ‘दिगो पर्यटन विकासको अवधारणामा फिर्के खोलाको दुवैतर्फ साइकल लेनसहितको फुट ट्रयाक बनाइने छ । यो पोखराको पर्यटन गन्तव्य बन्नेछ, यसको संरक्षण, विकास र सौन्दर्यीकरण एक साथ गरिनेछ ।’ महानगरका अनुसार फिर्केमा अतिक्रमित संरचना हटाइसकेपछि मात्र पर्यटन विकास परियोजना लागू हुनेछ । फिर्के खोलाको सिमाङ्कन टोलीमा इन्जिनियर, सर्वेक्षक र अमिनसहित ४० जना परिचालित भएका थिए । पोखरा–१८ स्थित सराङकोटको फेदी अँधेरीकुनाबाट सुरु भएर प्रस्याङ, मालेपाटन, बुलौँदी हुँदै फिर्केखोला फेवातालमा गएर मिसिन्छ ।

रासस

You might also like

Comments are closed.