झापामा जिउँदो माछा बिक्री केन्द्र सञ्चालनमा

 

झापा । भारतीय माछा विस्थापित गर्ने उद्देश्यले जिल्लाका ११ स्थानमा जिउँदो माछाको बिक्री केन्द्र सञ्चालनमा आएको छ । पाँच युवा मिलेर गाभुर एग्रो फार्म प्रालिमार्फत काँकरभिट्टा, इँटाभट्टा, धुलाबारी, भद्रपुर नगरपालिकाको झापा चोक र सगरमाथा चोक तथा बिर्तामोड नगरपालिका क्षेत्रका बिर्ताबजार, चारपाने, बुट्टाबारी, जात्रुबारी, अतिथि सदन रोड र स्याँलडाँगीमा केन्द्रहरु एक साथ सञ्चालनमा ल्याएका छन् ।

स्वास्थ्यका दृष्टिकोणले निकै फाइदाजनक अर्गानिक जिउँदो ताजा माछा बिक्री केन्द्रको बिर्ताबजारमा उद्योग वाणिज्य महासंघ प्रदेश १ का अध्यक्ष टीकाराज ढकालले उद्घाटन गरेका हुन् । फर्मालिन प्रयोग गरेर हप्तौँपछि नेपाल भित्र्याइएका भारतीय मरेका माछाले उपभोक्ताको स्वास्थ्यमा गम्भीर किसिमका रोग लाग्न थालेको उपभोक्ताको गुनासो आएसँगै जिउँदो माछाको बिक्री केन्द्र सञ्चालनमा ल्याइएको गाभुर एग्रोका प्रबन्धक अभय राजवंशीले बताए ।

footwear zone

सरसफाइमा विशेष ध्यान दिँदै उपभोक्तालाई अग्र्यानिक ताजा माछा खुवाउने व्यवस्थित बिक्री केन्द्र सञ्चालनमा ल्याइएको केन्द्रमा पंघास, रहु, कमन कार्प, बिग हेड, पम्प्लेट, नैनीलगायतका माछा राखिएको उनले जानकारी दिए । माछालाई जिउँदो राख्नका लागि बिक्री केन्द्रमा सिसाका एक्वारियम बनाई अक्सिजन दिने व्यवस्था गरिएको छ । उनीहरुले सर्वोत्तम एग्रो सप्लायर्स प्रालि नामक अर्को एउटा कम्पनीसमेत स्थापना गरी माछाको दाना पनि बिक्री गर्दै आएका छन् ।

You might also like

Comments are closed.