न्यूनदृष्टियुक्त व्यक्तिले फूलखेतीबाट मनग्य आम्दानी गरे

सानेबहादुर नेपाली, तनहुँ । बन्दिपुर गाउँपालिका–१ का ४० वर्षीय न्यूनदृष्टियुक्त अमृत शाहीले फूलखेतीबाट लोभलाग्दो आम्दानी गरिरहेका छन् । उनी सो वडाका वडासदस्य पनि हुन् । शारीरिक रुपमा उनी अपाङ्गता भएका व्यक्ति भएपनि सपाङ्ग व्यक्तिभन्दा जोसजाँगरमा कमी छैन ।

वडासदस्यको जिम्मेवारी बहन गर्दै शाही पछिल्लो समय व्यावसायिक रुपमा सयपत्री फूलखेतीतर्फ आर्कर्षित बनेका छन् । न्यूनदृष्टियुक्त व्यक्ति उनी आफूले सकेको काम आफै गर्ने र आफूले गर्न नसक्ने काम घरपरिवारलाई गर्न लगाउने उनको स्वभाव रहेको शाहीको श्रीमती गङ्गा शाहीले बताइन् ।

गतवर्ष थोरै क्षेत्रफलमा लगाएको फूलखेतीबाट राम्रो आम्दानी भएपछि यसवर्ष अझ क्षेत्रफल बढाएर फूलखेती गरेका छन् । उनले फूलखेती थालेसँगै स्थानीयवासी थप उत्साहित हुन थालेका छन् । गत वर्ष करिब ३५ हजार रुपैयाँ मूल्य बराबरको फूल बिक्री गरिएकोमा यसवर्ष कम्तीमा ५० हजार रुपैयाँको बिक्री हुने लक्ष्य राखिएको उनले जानकारी दिए ।

footwear zone

काठमाडौंबाट अफ्रिकन सयपत्री फूलको बीउ ४ हजार रुपैयाँमा खरिद गरी ल्याएर उत्पादन गरेको बिरुवा करिब एक रोपनी क्षेत्रफलमा लगाएको उनले बताए । एक हजारभन्दा बढी फूलका बिरुवामा फूल फक्रिएको छ । उनले भने, “बढी वर्षाका कारण फूलका बिरुवा अग्लो भई ढलेकाले अपेक्षाअनुरुप आम्दानी लिन सकिदैन कि भन्ने लागेको छ ।” सामान्य मेहनतमै थोरै जग्गामा विभिन्न प्रजातीका फूल तथा फूलका बेर्ना उत्पादनबाट राम्रो आम्दानी भइरहेको उनको भनाइ छ । “एक रोपनी जग्गामा कति मकै फल्छ, कोदो कति नै फल्छ र”, उनले भने, “तर त्यती जग्गाबाट नसोचेको आम्दानी भएको छ ।”

फूल बिक्रीका लागि बजारको कुनै समस्या नभएको र अधिकांश मानिसले घरमै आएर फूल लैजाने आश्वसन दिएकाले बिक्रीमा समस्या नहुने देखिएको छ । छोटो समयमा कम परिश्रम र थोरै लगानीमा राम्रो आम्दानी लिन सकिने भएकाले आफू यस व्यवसायतर्फ आकर्षित भएको उनले बताए । बर्सेनि विदेशबाट करोडौँका फूल नेपालमा भित्रिने हुँदा व्यावसायिक रुपमा फूलखेती गरेर स्वदेशमै आत्मनिर्भर बन्न सकिन्छ भन्ने सन्देश दिन पनि आफूले यसको खेतीतर्फ लागिपरेको उनको भनाइ छ ।

“फूलखेती गर्दा जग्गा जमिन मलिलो हुने, रोग कीराको आक्रमण कम हुने, विषादी प्रयोग गर्न नपर्ने हुन्छ उनले भने”, “गोडमेल, सिँचाइलगायत सजिलो काम गरे पुग्ने भएकाले आफ्नो रोजाइँको पेशा बनेको छ ।” उनी बन्दिपुर–१ रिमाल्नीमा अमृत नर्सरी स्थापना गरी फूल खेतीको साथसाथै फलफूलका बिरुवा समेत बिक्री गर्दै आएका छन् ।

नर्सरीमा आँप, लिची, अम्बा, ड्रागन फ्रुट, एभोकाडोलगायतका बिरुवा उत्पादन गरेर बिक्री गर्ने गरेको किसान शाहीले बताए ।

You might also like

Comments are closed.