दाङ । दाङमा व्यावसायिक फूल खेतीमा युवा आकर्षण बढ्दै गएको छ। वाणगङ्गा नगरपालिका कपिलवस्तुका भाष्कर पङ्गेनी, दशरथ साउद र बसन्त छहरी मगरले घोराही उपमहानगरपालिका–१५ भरतपुरमा व्यावसायिक सयपत्री फूल खेती गरेर तिहारमा रु १२ लाख आम्दानी गरेका छन् ।
कपिलवस्तुमा चार वर्षदेखि फूल खेती गरिसकेका पङ्गेनीले गत वर्षदेखि दाङमा व्यवसायीक फूल खेती विस्तार गरेका हुन् । दाङमा १० कठ्ठा जमिन मासिक रु दुई हजार भाडा तिर्नेगरी फूल खेती सुरु गरेका हुन् ।
गत वर्ष पाँच कट्ठामा व्यावसायीक फूल खेती गरेका पङ्गेनीले यो वर्ष १० कट्ठामा फूल खेती गरेका छन् । उनले यस बर्ष ‘कर्म ५५५’ जातको सयपत्री फूल खेती गरेका छन् । भास्करसँगै व्यावसायमा जोडिनुभएका कृषि प्राविधिक सहायक दशरथ साउदले फूल खेतीको प्राविधिक पक्ष हेर्ने गरेका छन् । कृषि प्राविधिक पढेर कृषिमा लागेका साउदले फूल खेती अवलोकन गर्न आउनेलाई प्राविधिक ज्ञान दिने गरेका छन् ।

घोराही–१५ भरतपुरमा फूलखेती गरिएको स्थानमा “एग्रो टुरिजम” सञ्चालन गरेका छन्। फूलेका फूललाई सदुपयोग गर्न र टिकटक बनाउने स्थान बनाएर रमाइलो गर्ने ठाउँ बनाइदिएको साउदले बताए। ढकमक्क फूलेका फूलले बारी मनमोहक देखिएको छ। तिहार सकिए पनि फूल ढपक्क फूलेका छन् । टिकटक बनाउन आउनेलाई फोटो खिच्न माला बनाएर दिने गरेको भएर माला बनाउने काम पनि चलिरहेको छ।
तिहार सकियो, फूलको सदुपयोग गरौँ भनेर यस्तो सोचाइ गरेको उनले बताए। रु पाँचलाख लगानी गरेर फुल खेती गरेको यसपाली तिहारमा रु १२ लाखको फुल बिक्री गरेको साउदले बताए। गत वर्षभन्दा यो वर्ष राम्रो आम्दानी भयो। एउटा माला रु १५० देखि तीन सयसम्ममा बिक्री गरेको उनले बताए।
नेपालमा सबैभन्दा धेरै फुल बिक्री आफूले गरेको भास्कर पङ्गेनीले दावी गरे । “माला र फूलको अत्यधिक माग आयो आफै वजारमा लगेर बिक्री गर्यौ”, उनले भने। अहिले फूल खेती गरिएको ठाउँमा टिकटक बनाउने स्थान सिङ्गारेर चिटिक्क बनाएका छन् । “२५ हजार लगानी गरेर टिकटक स्थान बनाएको हो, उनले भने।” विद्यार्थीलाई रु ५० प्रतिशत सहुलियतमा प्रवेश गर्न दिइएको छ भने अन्य नागरिकलाई रु एक सय लिने गरेको उनले बताए।
विवाहको कार, विवाह मन्डप सजाउने गरेको उनले बताए । कृषिमा लगानी गरियो भने घाटा हुँदैन नाफा नै हुने गरेको उनको भनाइ छ। स्वदेशमै फूलमा आत्मनिर्भर बनाउने उद्देश्यले रु एक लाख आठ हजारको फूलको बीऊ किनेर खेती सुरु गरेको उनको भनाइ छ । “फूलका विरुवा बिक्री गरेर बीऊको पैसा उठिसकेको छ, फूल बिक्री गरेको पैसा सबै आम्दानी हो, उनले भने।”
जिल्ला बाहिरबाट फूलको माग आएको भए पनि पहिलो प्राथमिकता जिल्लाभित्रलाई दिएर फुल बिक्री गरेको उनले बताए। युवा वैदेशिक रोजगारीका लागि बाहिर जानु नपर्ने र स्वदेश मै कृषिबाट मनग्य आम्दानी गर्नसकिने उनको भनाइ छ। बेरोजगार युवालाई कृषिमा समाहित गराउने उद्देश्यले १०८ कन्सेपमा कृषि फर्मको नाम नै (१०८) राखेका छन्। दाङको कृषि फर्म ३ नम्वरको रहेको छ ।
फूल उत्पादनका लागि दाङको माटो उपयुक्त रहेको उनको भनाइ छ। यहाँ उत्पादित फूल विदेश निर्यात गरेर पनि आम्दानी गर्न सक्ने सम्भावना रहेको कृषि विज्ञको भनाइ छ। जग्गा बाँझो छाडेर विदेश जानुभन्दा स्वदेशमै बसेर यस्तै फूल खेती गर्न सके त्यसले आयआर्जनको बलियो आधार भएको छ ।
एक सय ८ युवालाई कृषि उधमी बनाउने तथा रोजगार प्रदान गर्ने अभियान अन्तर्गत देशव्यापीरुपमा युवालाई कृषिमा सहभागी हुन पङ्गेनीले आह्रान गरेका छन् । रासस




Comments are closed.