काठमाडौं । नेपालको पहिलो अनलाइन फुड डेलिभरी प्लेटफर्म फुडमाण्डूले पहिलोपटक काठमाडौँबाहिर पोखरामा सेवा विस्तार गरेको छ । कम्पनीका बजार व्यवस्थापक श्यामरत्न मालीले बिहीबार पत्रकार सम्मेलनमार्फत पर्यटकीय नगरी पोखरामा सेवा विस्तार गरिएको जानकारी दिए । ग्राहकको मागलाई ध्यान दिँदै काठमाडौँबाहिर पहिलोपल्ट पोखराबाट सेवा विस्तार गरिएको उनले बताए । “गुणस्तरीय सेवासहित हामी आएका छौँ, अब पोखरेलीले अनलाइनबाटै फुडमाण्डूका खानेकुरा अर्डर गर्न सक्नुहुनेछ ।”
मालीका अनुसार फुडमाण्डूले हाल ३० भन्दा बढी स्थानीय रेष्टुरेन्ट तथा होटलसँग सहकार्य गरेको र यसलाई विस्तारै बढाउँदै लगिने छ । कम्पनीका संस्थापक मनोहर अधिकारीले आफूहरुले पहिलेदेखि नै पोखरामा सेवा विस्तार गर्ने योजना बनाए पनि कोभिड–१९ लगायत कारणले विस्तारमा ढिला भएको जानकारी दिए। “हामीले २०२० मा नै देशका विभिन्न स्थानमा सेवा विस्तार गर्ने लक्ष्य लिएका थियौँ तर कोभिड–१९ का कारणले आफ्नो ध्यान अन्य प्रमुख विषयमा केन्द्रित भयो”, उनले भने ।
सन् २०१० देखि शुरु गरिएको फुडमाण्डूको अनलाइन सेवाले ग्राहकको मन जित्दै गएकाले अब देशका अन्य स्थानबाट पनि सेवा दिने योजनानुरूप काठमाडौं बाहिर पोखराबाट शुरु गरिएको उनले बताए । सन् २०२१ लाई आफ्नो सेवा विस्तारको वर्षका रूपमा अघि बढाउने योजना रहेको उनले जानकारी दिए । कार्यक्रममा रेबान पोखराका अध्यक्ष लक्ष्मण बरालले पोखरामा फुडमाण्डूको सेवाले पोखरेली ग्राहकलाई सहज हुने विश्वास व्यक्त गरे ।

फुडमाण्डूको सेवा उपलब्ध हुँदा रेष्टुरेन्टलाई समेत व्यापार विस्तार हुन सहज हुने उनले बताए । सेवा विस्तारको अवसरमा फुडमाण्डूले पोखरेलीलाई जनवरी ३१ सम्म ३० प्रतिशत छुट दिने घोषणासमेत गरेको छ ।




Comments are closed.