काठमाडौं । फुटवयर म्यानुफ्याक्चरर्स एसोसियसन अफ नेपालद्वारा काठमाडौंको भृकुटी मण्डपमा आयोेजित जुत्ता चप्पल ब्यापार प्रवर्दन मेलामा अवलोकनकर्ताको आकर्षण देखिएको छ । मेलामा शनिबार एकैदिन करिब १० हजार जनाले अवलोकन गरेका छन् । शनिबार मात्रै ३० लाख रुपैयाँ बराबरको कारोबार भएको मेला संयोजक एवं एसोसिएसनका उपाध्यक्ष सुरज बन्जाडेले जानकारी दिए ।
मेलामा २२ कम्पनीले करिब सय वटा स्टलमा आफ्ना उत्पादन बिक्री तथा प्रदर्शनी तथा बिक्रीका लागि राखेका छन् । मेलामा गोल्डस्टार, शिखर सुज, बिएफ डियर हिल, रोयल, रन सुज, सुल्याण्ड, कोशेली, क्रसरोड, केटिएम सुज, स्मार्ट, फस्टवाल्क, वान वल्र्ड, हाइलाइफ, सिल सुज, ह्याप्पी, बोस सुज, फस्ट स्टेप, बाम्बो सुज, बिएफ स्पोर्टस् लगायतका ब्राण्डका जुत्ता चप्पल मेलामा प्रदर्शनी एवं बिक्रीमा छन् ।
मेलामा उपभोक्ताको हितलाई ध्यानमा राख्दै १० देखि ५० प्रतिशतसम्म छुट उपलब्ध गराइएको छ । छुटका कारण उपभोक्ताहरु प्रत्यक्ष लाभान्वित भएको एसोसिएसनका पूर्व अध्यक्ष एवं मेलाका सल्लाहकार होमनाथ उपाध्यायले बताए । मेलामा एक हजार मोडलका जुत्ता चप्पल एकै स्थानबाट खरिद गर्न सकिने उनले बताए ।

वैशाख १५ गतेबाट जारी मेला जेठ ८ सम्म सञ्चालन हुनेछ । आन्तरिक उत्पादनलाई प्रवर्दन गर्ने लक्ष्यसहित मेला आयोजना गरिएको एसोसिएसनले जनाएको छ ।
‘प्रदर्शनीमा अवलोकनकर्ताको आकर्षण देखिएको छm,’ मेला संयोजक बन्जाडेले भने । प्रदर्शनीमा विशेष छुटमा जुत्ता चप्पलहरु बिक्री भएकाले उपभोक्ताहरु प्रत्यक्ष रुपमा लाभान्वित भएको एसोसिएसनले जनाएको छ ।
उद्योगी र ग्राहकलाई सहज हुने गरी मेला आयोजना गरिएको एसोसिएसनले जनाएको छ । एसोसिएसनले अबदेखि वर्षमा २ पटकमात्रै यस प्रकारको मेला आयोजना गर्ने र अर्को मेला आगामी मंसिरमा मात्रै हुने अध्यक्ष नानीराज घिमिरेले जानकारी दिए । ‘वर्षमा २ पटक मात्रै मेला आयोजना गरी उपभोक्तालाई स्वेदशी ब्राण्डका गुणस्तरीय प्रडक्ट उपलब्ध गराउन हामी प्रद्धिबद्ध छौं ।’




Comments are closed.