मेलामा पुगेपछि जुत्ता चप्पल किनौं-किनौं लाग्यो …

काठमाडौं । बिराटनगर स्थायी घर भएर काठमाडौंको नक्सालमा बसोबास गर्दै आएका अमित अग्रवाल सोमबार भृकुटी मण्डपमा जारी जुत्ता चप्पल ब्यापार प्रवर्दन मेलामा देखिए । बजारमा अघिल्लो वर्ष २ हजार रुपैयाँमा खरिद गरेको जुत्ता मेलामा १ हजार २ सय रुपैयाँमा मात्रै खरिद गर्न पाउँदा उनी हर्षित देखिन्थे । मेलामा निकै सस्तोमा जुत्ता किन्न पाएको अनुभव गरेका उनले परिवारका लागि ४ जोर जुत्ता र ३ जोर चप्पल खरिद गरेको सुनाए । ‘बजारमा ३ जोर जुत्ता किन्न पुग्ने पैसाले यहाँ ५ जोर खरिद गर्न पाउँदा खुसी लागेको छ,’ उनले भने ।

तनहुँको चुँदी स्थायी घर भएर काठमाडौंको कलंंकी बस्दै आएकी अजन्ता ढकालले सोमबार मेलामा २ जोर चप्पल र एक जोर जुत्ता खरिद गरिन् । ‘३ वर्ष अगाडि मेलामा किनेको चप्पल मैलै आजसम्म पनि लगाइरहेको छु,’ उनले भनिन्, ‘अहिले मेला छ भन्ने जानकारी पाएपछि समय मिलाएर अवलोकन गर्न आएँ र चप्पल खरिद गरेँ ।’

भक्तपुर पलासे बस्ने बिनिता परियार फुटवयर म्यानुफ्याक्चरर्स एसोसियसन अफ नेपालद्वारा आयोजित मेलाको अवलोकन गर्ने उद्देश्यले मात्रै भृकुटी मण्डप आएकी थिइन् । मेलामा पुगेपछि उनलाई रित्तै हात फर्किन मन लागेन । एकातर्फ सस्तो मूल्य र अर्को तर्फ आकर्षक र फरक फरक डिजाइन र कम्पनीका जुत्ता चप्पल एकै स्थानमा देख्न उनी सपिङ गर्ने निचोडमा पुगिन् । ‘मेलामा आएपछि जुत्ता चप्पल किनौं किनौं लाग्यो र ३ जोर चप्पल खरिद गरेँ,’ उनले भनिन् ।

footwear zone

अन्य दिनमा जस्तै मेलामा सोमबार पनि अवालेकन कर्ताको आकर्षण देखिएको आयोजक संस्थाका उपाध्यक्ष एवं मेला संयोजक सुरज बन्जाडे बताउँछन् । ‘दिनप्रतिदिन अवलोकन कर्ताको आकर्षण देखिएको छ,’ उनले भने, ‘उपभोक्ताहरुको आकर्षणले हामी उत्साही भएका छौं ।’ मेला अवधिभर आगामी दिनमा अझै धेरैले अवलोकन गर्ने र जुत्ता चप्पल बिक्री हुने उनले विश्वास व्यक्त गरे ।

वैशाख १५ गतेबाट जारी मेला जेठ ८ सम्म सञ्चालन हुनेछ । आन्तरिक उत्पादनलाई प्रवर्दन गर्ने लक्ष्यसहित मेला आयोजना गरिएको एसोसिएसनले जनाएको छ । मेलामा उपभोक्ताको हितलाई ध्यानमा राख्दै १० देखि ५० प्रतिशतसम्म छुट उपलब्ध गराइएको छ । मेलामा २२ कम्पनीले करिब सय वटा स्टलमा आफ्ना उत्पादन बिक्री तथा प्रदर्शनी तथा बिक्रीका लागि राखेका छन् । मेलामा गोल्डस्टार, शिखर सुज, बिएफ डियर हिल, रोयल, रन सुज, सुल्याण्ड, कोशेली, क्रसरोड, केटिएम सुज, स्मार्ट, फस्टवाल्क, वान वल्र्ड, हाइलाइफ, सिल सुज, ह्याप्पी, बोस सुज, फस्ट स्टेप, बाम्बो सुज, बिएफ स्पोर्टस् लगायतका ब्राण्डका जुत्ता चप्पल मेलामा प्रदर्शनी एवं बिक्रीमा छन् ।

उद्योगी र ग्राहकलाई सहज हुने गरी मेला आयोजना गरिएको एसोसिएसनले जनाएको छ । एसोसिएसनले अबदेखि वर्षमा २ पटकमात्रै यस प्रकारको मेला आयोजना गर्ने र अर्को मेला आगामी मंसिरमा मात्रै हुने अध्यक्ष नानीराज घिमिरेले जानकारी दिए । ‘वर्षमा २ पटक मात्रै मेला आयोजना गरी उपभोक्तालाई स्वेदशी ब्राण्डका गुणस्तरीय प्रडक्ट उपलब्ध गराउन हामी प्रद्धिबद्ध छौं ।’

You might also like

Comments are closed.