काठमाडौं । पाँचौ दशैं व्यापार प्रवद्र्धन मेला २०७९ काठमाडौंको भृकुटी मण्डपमा जारी रहेको छ । फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपालद्वारा आयोजित मेलामा जुत्ता चप्पल खरिदमा भारी छुट उपलब्ध गराइएको संयोजक सुरज बञ्जाडेले जानकारी दिए ।
नेपाली जुत्ता, चप्पल तथा छाला जन्य वस्तुको विषयमा सकारात्मकताको सञ्चार गर्न सघाउने र आम नेपालीहरुमा राष्ट्रियताको भावना प्रवर्द्धन गर्न थप मद्दत पुग्ने विश्वासका साथ मेला आयोजना गरिएको आयोजकको भनाइ छ । मेलामा एकै थलोमा सम्पूर्ण प्रकारका जुत्ता चप्पल खरिद गर्न पाइन्छ । उपभोक्ताको हितलाई मध्यनजर गर्दै १० देखि ५० प्रतिशतसम्म छुटमा जुत्ता चप्पल बिक्री भइरहेको बञ्जाडेले जानकारी दिए ।
मेलाको प्रभावकारिताका लागि यस वर्ष तीज, दशैं जस्ता चाँडलाई लक्षित गरी अझ वृहद र प्रभावकारी रुपमा व्यापार मेलाको आयोजना गरिएको पूर्व अध्यक्ष होमनाथ उपाध्यायले बताए ।

आइतबारबाट सुरु भएको मेला भदौ २० गतेसम्म जारी रहनेछ । मेलामा लेडिज, जेन्स र बालबालिका सबैलाई समेट्ने गरी नेपालमा उत्पादित जुत्ता, चप्पल तथा छाला जन्य वस्तुहरु र स्वदेशमै तयार गरिएका चाडबाड लक्षित जुत्ता चप्पल रहने छन् ।
मेलामा बेस फुटवेयर इण्डष्ट्रिज, कोशेली छाला जुत्ता उद्योग प्रा.लि, लालीगुँरास फुटवेयर, शुभकामना फुटवेयर प्रोडक्ट नेपाल प्रा.लि, पवित्रा शुज इण्डष्ट्रिज, रन शुज इण्डष्ट्रिज, स्मार्ट शुज इण्डष्ट्रिज प्रा.लि, सम्राट शुज प्रा.लि, नमस्ते फुटवेयर प्रा.लि का जुत्ता चप्पल पाउन सकिनेछ । मेला २ लाख ५० हजारभन्दा बढी स्वदेशी तथा विदेशी आगन्तुकहरुले भ्रमण गर्ने अनुमान गरिएको छ भने, ३ करोड बराबरको कारोबार हुने अपेक्षा गरिएको छ ।
स्वदेशी उत्पादनका बारेमा आम उपभोक्तालाई स्थलगत अवलोकन गराई आफ्नो उत्पादनका बारेमा जानकारी गराउन, स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्न प्रदर्शनी मेलाको माध्यमबाट व्यापक प्रचारप्रसार गरि बाह्य बजारसमेत विस्तार गर्ने रणनीतिक पहल गर्नु मेलाको उद्देश्य रहेको अध्यक्ष नानीराज घिमिरेले बताए ।
‘विदेशी जुत्ता चप्पल तथा छालाका वस्तुहरुको आयातलाई प्रतिस्थापन गरी जुत्ता चप्प्ल तथा छालाका वस्तु उत्पादनका क्षेत्रमा मुलुकलाई अत्मनिर्भर बनाउनु, उपभोक्ताहरु नै उत्पादनलाई सफल बनाउने मूल पात्रहरु भएकाले वास्तविक उपभोक्तासँग उत्पादनहरुले प्रत्यक्ष भेटी उनिहरुका गुनासो तथा राय सुझाव संकलन गरी कमीकम्जोरीलाई सच्याउँदै आफ्ना उत्पादनहरुमा सुधार ल्याउनु मेलाको लक्ष्य हो,’ उनले भने ।




Comments are closed.