‘जाडोमा न्यानो जुत्ता चप्पल व्यापार मेला’ जारी

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपस्थित ठूलो चौरमा ‘जाडोमा न्यानो जुत्ता चप्पल व्यापार मेला’ जारी छ । जाडो मौषम, लगन तथा शुभ मुहुर्तलाई मध्यनजर गर्दै फुटवयेर म्यानुफ्यक्चर्स एसोसियसन अफ नेपालले आयोजना गरेको मेलामा ग्राहकको आकर्षण बढ्दै गएको छ ।

कार्तिक २४ गतेदेखि सुरु भएको मेला आगामी पुस ७ गतेसम्म चल्ने भएको छ। मेला यसअघि पुस २ गतेसम्म चल्ने भनिएको थियो । तर, विशेष कारणवस ३ दिन रोकिएको मेला मंसिर २५ गतेदेखि पुनः सुचारु भएको हो।

रोकिएको अवधिको सट्टामा मेलालाई पुस ७ गतेसम्म लैजाने तयारी भएको फुटवयेर म्यानुफ्यक्चर्स एसोसियसन अफ नेपालका पूर्व अध्यक्ष एवं मेला संयोजक होमनाथ उपाध्यायले जानकारी दिए । मेलाको हालसम्म ४ लाख १० हजार बढीले अवलोकन गरीसकेका छन् भने करिब ३६ हजार जोर बढी जुत्ता चप्पल बिक्री भइसकेको संयोजक उपाध्यायले जानकारी दिए ।

footwear zone

मेलामा १५ देखि ५० प्रतिशतसम्मको छुटमा जुत्ता चप्पल बिक्री भइरहेकाले मेलाप्रति ग्राहकको आकर्षण बढ्दै गएको संयोजक उपाध्यायले बताए। मेलामा अन्य भन्दा शनिबारका दिन बढी भिडभाड हुने गरेको उपाध्यायले जानकारी दिए ।

मेलामा ३ हजार भन्दा बढी प्रकारका जुत्ता चप्पलहरु प्रदर्शन एवं बिक्रीमा राखिएका छन् । मेलामा बालबालिकादेखि वृद्धसम्म सबैलाई मिल्ने लेडिज, जेन्स, लेदर तथा स्पोर्टस जुत्ताहरु उपलब्ध रहेको उनले बताए ।

बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुँदै आएको मेलामा स्वदेशी चर्चित ब्राण्डहरु बिएफ डियरहिल सुज, रोयल सुज, रन सुज, कोशेली, फस्ट वाक, क्रस रोड, केटिएम, स्मार्ट, स्टाइल, सिललगायत अन्य विभिन्न ब्राण्डहरुको जुत्ता चप्पलको स्टलहरु राखिएका छन् ।

You might also like

Comments are closed.