काठमाडौं । काठमाडौंको भृकुटी मण्डपमा जुत्ता चप्पल प्रवद्र्धन मेला जारी छ । मेलामा स्वदेशी प्रशिद्ध ब्राण्डका जुत्ता चप्पलहरु प्रदर्शनी एवं बिक्रीका लागि राखिएका छन् । मेलामा २२ वटा कम्पनीका सय वटा स्टल रहेको आयोजक संस्था म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपालका पूर्व अध्यक्ष एवं मेला संयोजक होमनाथ उपाध्यायले जानकारी दिए ।
पछिल्लो समय स्वदेशी ब्राण्डप्रति ग्राहक तथा उपभोक्ताको आकर्षण बढेको उपाध्यायले बताए । संघले वर्षमा २ पटक यस प्रकारको मेला गर्दै आइरहेको छ । ६ महिना पछि मात्रै काठमाडौंमा यस प्रकारको मेला आयोजना गरिएको उपाध्यायले बताए ।
बजारमा आर्थिक चलायमान बनाउन पनि मेला सहयोगी भइरहेको आयोजकको विश्वास छ । ‘नेपालमा चलेका चर्चित प्राय सबै ब्राण्डहरुको मेलामा एक साथ सहभागिता छ,’ उपाध्यायले भने, ‘उपभोक्ताले मेलामा सहभागी भएर प्रत्यक्ष रुपमा लाभ लिन सक्नेछन् ।’

मेलामा अलग अलग कम्पनीले फरक फरक छुट प्रदान गरिरहेका छन् । १० देखि ५० प्रतिशत भन्दा बढी छुटमा मेलामा जुत्ता चप्पल खरिद गर्न सकिने उपाध्यायले जानकारी दिए ।

मेलामा हालसम्म हरेक दिन अवलोकनकर्ताको उपस्थिति उत्साहजनक रहेको एसोसिएसनका उपाध्यक्ष एवं मेला संयोजक सुरज बन्जाडेले बताए । ‘आगामी दिनमा पनि मेलामा सहभागीहरुको संख्या अझै बढ्नेमा हामी विश्वस्त छौं,’ उनले भने ।
वैशाख १५ गते सुरु भएको मेला जेठ ८ गतेसम्म चल्नेछ ।





Comments are closed.