भजनीका किसानलाई चैते धानको बीउ निःशुल्क वितरण

टीकापुर । कैलालीको भजनी नगरपालिकाका किसानलाई १०० क्विन्टल चैते धानको बीउ निःशुल्क वितरण गरिएको छ । नगरपालिकाको १ देखि ९ वटै वडाका किसानलाई चैते धानको बीउ वितरण गरिएको हो । नगरका अधिकांश क्षेत्र डुबानका कारण बर्खे यामको धानबालीको उत्पादन लिन नपाउने भएकाले चैते धान खेतीबाट नागरिकको खाद्य सुरक्षा सुनिश्चित गर्न धानको बीउ वितरण गरेको नगरपालिका कृषि शाखाका प्रमुख कमल चौधरीले बताए ।

“यहाँ बर्सेनि बर्सातमा बाढी आउँछ, यहाँका किसानले बर्खे खेती गर्न सक्दैनन, त्यसैले चैते धानको बीउ वितरण गर्यौँ”, कृषि शाखा प्रमुख चौधरी भन्छन्, “यहाँ चैते धान राम्रो उत्पादन हुन्छ । हामीले धान खेती भनेपछि चैते धानलाई बढी प्रोत्साहन गर्छौं ।” उनले डुबान क्षेत्रका किसानलाई प्राथमिकतामा राखेर बीउ वितरण गरिएको जानकारी दिए । भजनी नगरपालिका र कृषि ज्ञान केन्द्र कैलालीको आर्थिक सहयोगमा २२२ हेक्टरमा पुग्ने गरी २८ कृषक समूह र व्यक्तिगतरूपमा गरी चैते धानको बीउ वितरण गरिएको छ ।

“किसानको मागका आधारमा बीउ वितरण गरिएको हो”, चौधरीले भने, “चैते तीन र चैते पाँच जातको धानको बीउ नगरपालिकाले १५ क्विन्टल र कृषि ज्ञान केन्द्रको ८५ क्विन्टल किसानलाई उपलब्ध गरायौँ । यससँगै चैते धान खेतीमार्फत् उत्पादन बढाउन अन्य कार्यक्रमसमेत सञ्चालन गर्नेछौँ ।”

footwear zone

नगरपालिकामा किसानलाई प्रोत्साहन गर्न हरेक वर्ष चैते धान ब्लक प्रदर्शन, चैते धान मुख्यमन्त्री कृषि कार्यक्रमजस्ता कार्यक्रमसमेत सञ्चालन हुँदै आएका छन् । नगरपालिकामा करिब ४०० हेक्टरमा चैते धानखेती हुने गरेको छ । नगरपालिका चैते धान खेतीको लागि राम्रो र उर्बर क्षेत्र हो । यहाँका किसानले बर्सेनि चैते धान खेती गर्ने गरेका छन् । “बर्खे धान खेतीभन्दा राम्रो उत्पादन र बाढी ग्रसित क्षेत्रका लागि चैते धान खाद्य सुरक्षामा सहयोग पुग्ने भएकाले नगरपालिकाले चैते धान खेतीमा सहयोग गर्नुले यहाँका किसानलाई सजिलो भएको छ”, किसान सुन्दर चौधरी भन्छन्, “कृषिमा सरकारले लगानी बढाएको छ । भजनीमा बर्सेनि आउने बाढीका कारण खेतीयोग्य जमीन र बालीमा क्षति पुग्ने गरेको छ । यहाँका नदी तथा कटान हुने क्षेत्रमा स्थायी तटबन्ध गरी खेतीयोग्य जमीन बचाउनतर्फ ध्यान दिनुपर्छ ।”

ज्येष्ठ नागरिक र एकल महिलालाई न्यानो कपडा वितरण

कैलालीको जोशीपुर गाउँपालिका–३ ले ज्येष्ठ नागरिक र एकल महिलालाई न्यानो कपडा कम्बल वितरण गरेको छ । वडाभित्र रहेका ६५ ज्येष्ठ नागरिक र एकल महिलालाई न्यानो कपडा र कम्बल वितरण गरिएको हो । न्यानो कपडा पाउँदा ज्येष्ठ नागरिक र एकल महिला खुसी भएका छन् । बयासी वर्षीय रामराजा चौधरीले चिसो बढेका बेला वडा कार्यालयले सम्झेको बताए । “ज्येष्ठ नागरिकलाई सम्झने सरकार पाएका छौँ, गत वर्ष पनि कम्बल पाएका थियौँ, यसले जाडो छेक्न सघाउँछ”, उनले भने, “परिवार, समाज, सन्तानको माया नपाएर दिक्क भएका हामीजस्ता बूढापाकालाई यहाँ भेला गरेर सम्मान गर्नु नै ठूलो ठानेका छौँ ।”

गाउँपालिकाका अध्यक्ष रामकृष्ण चौधरीले गाउँपालिकाले विभिन्न वडामा विपन्नलाई राहत हुने खालका कार्यक्रम गर्दै आएको बताए । “हामीले सक्दो राहत दिन यस्ता सानासाना कार्यक्रम गर्ने गरेका छौँ”, अध्यक्ष चौधरी भन्छन्, “सहयोग सानो भए पनि यहाँ ज्येष्ठ नागरिक र एकल महिलाको भावना र पीडा समेटिएको छ ।”

वडा कार्यालयले हरेक वर्ष ज्येष्ठ नागरिकलाई सम्मानस्वरूप न्यानो कपडा वितरण गर्दै आइरहेको छ । ज्येष्ठ नागरिकलाई सम्मान पनि होस् र उनीहरुलाई जाडोबाट पनि बच्न सजिलो होस् भनि कम्बल वितरण गरिएको वडाध्यक्ष किशोर कठरियाले जानकारी दिए । “ज्येष्ठ नागरिकलाई बढी जाडो हुन्छ, अनि एकल महिलालाई आर्थिक समस्या हुन्छ, थोरै भए पनि राहत दिऔँ भनी कम्बल दिएका हौँ”, वडाध्यक्ष कठरियाले भने, “यो कार्यक्रम आउँदो वर्ष पनि निरन्तर हुनेछ ।”

You might also like

Comments are closed.