गलेश्वर मन्दिरमा करिब १९ लाख भेटी संकलन

म्याग्दी ।  बेनी नगरपालिका–९ स्थित गलेश्वर मन्दिरमा एक महिनाको अवधिमा करिब रु १९ लाख ७० हजार दुई सय ५३ भेटी संकलन भएको छ । साउनका पाँच सोमबारका दिन पूजाआजाका लागि आएका भक्तजनले चढाएका रकमबाट सो भेटी जम्मा भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ ।

पहिलो सोमबार रु तीन लाख ३९ हजार पाँच सय ५६, दोस्रो सोमबार रु तीन लाख १८ हजार तीन सय ३२, तेस्रो सोमबार रु तीन लाख सात हजार १३, चौथो सोमबार रु चार लाख ६१ हजार चार सय २३ र पाँचौँ तथा अन्तिम सोमबार रु चार लाख ६८ हजार नौ सय २९ भेटी सङ्कलन भएको कोषका कोषाध्यक्ष कुमारी रोकाले जानकारी दिइन् ।

‘साउन महिनाको सोमबार, वालाचर्तुदर्शी र शिवरात्रिको भोलिपल्टै र अन्य समयमा मासिकरूपमा भेटी गन्ने गरिएको छ’, उनले भनिन्, ‘भेटी सार्वजनिक गर्न थालिएसँगै मन्दिरको आम्दानी पनि बढेको छ ।’ साउनमा एक लाख २५ हजार भक्तजनले दर्शन र पूजाआजा गरेका गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ । कोषका अध्यक्ष माधवप्रसाद रेग्मीका अनुसार संस्थाको विभिन्न बैंक तथा वित्तीय संस्थामा हाल रु तीन करोड नौ लाख ४९ हजार पाँच सय ८८ मौज्जदात छ ।

footwear zone

जिल्ला प्रहरी, सशस्त्र प्रहरी, सामुदायिक प्रहरी, विभिन्न विद्यालय, क्लब र आमा समूहका स्वयंसेवकको सहभागितामा पूजालाई व्यवस्थित गरिएको थियो । म्याग्दी, पर्वत, बागलुङ, कास्की, चितवनलगायत जिल्ला र भारतबाट समेत गलेश्वर शिवालयको दर्शन तथा पूजाआजा गर्न भक्तजन आएका सदस्यसचिव बलबहादुर खत्रीले बताए ।

साउन महिनाको सोमबार ब्रत बसेर, कालीगण्डकी स्नान र शिवालयमा चल चढाएमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ । कालीगण्डकी नदीको किनारमा नौ रोपनी क्षेत्रफलमा फैलिएको एउटै चट्टानमाथि अवस्थित गलेश्वर मन्दिर परिसरमा कहिल्यै नसुक्ने पोखरी छ । द्धापरयुगमा महादेवले सतिदेवीको मृत शरीर बोकेर कृष्णागण्डकी किनारैकिनार हिमालय पर्वततर्फ जाँदै गर्दा यसै स्थानमा सतिदेवीको गलापतन हुँदा ज्योतिर्लिङ्गेश्वर महादेव उत्पन्न भई शिवशक्तिस्वरूप रहेकाले यसको धार्मिक इतिहास छ ।

भेटी, महायज्ञबाट सङ्कलन तथा तीर्थयात्रीले दिएको दानबाट पछिल्लो १२ वर्षको अवधिमा करिब रु १० करोडको लागतमा विभिन्न भौतिक पूर्वाधार निर्माण भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ । धर्मशाला, सभाहल, वाटिका, यज्ञशाला, पाठशाला, पुजारी निवास, भोजनालय, कालीगण्डकीसम्म पुग्ने मार्ग, एक सय आठ शिवलिङ्ग, जडभरत, नटराज र लक्ष्मीनारायणको मूर्ति स्थापनालगायत भौतिक संरचना निर्माण भएका कोषका अध्यक्ष रेग्मीले जानकारी दिए ।

You might also like

Comments are closed.