१० करोडको लागतमा पर्वतको पैँयूमा डम्पिङ साइट बनाउँदै

काठमाडौं । दक्षिण पर्वतको पैयूँ गाउँपालिकाले १० करोडमा डम्पिङसाइट बनाउने भएको छ । गाउँपालिकाका बजार क्षेत्रको फोहरमैलालाई व्यवस्थापन गर्नका लागि डम्पिङ साइट बनाउन थालिएको हो ।

पालिकाका विभिन्न क्षेत्रमा बजारीकरण बढ्दै जाँदा फोहर व्यवस्थापनमा चुनौती बनिरहेका बेला वडा नं ५ मा स्थानीयवासीले निःशुल्क प्रदान गरेको जग्गामा पूर्वाधार निर्माण गरिने भएको हो ।

गाउँपालिकाभित्रको फोहरमैला व्यवस्थापनको लागि करिब  १० करोड लागतमा व्यवस्थापन परियोजना निर्माण गर्न थालेको प्रमुख प्रशासकीय अधिकृत केशव लामिछानेले जानकारी दिए । जसका लागि गाउँपालिका-५ का वडावासीले जग्गा प्रदान गरेको उनले बताए ।

footwear zone

वडा नं ५ को भूर्तेलथोकस्थित खोलाखर्कमा १९ रोपनी जग्गा गाउँपालिकाले प्राप्त गरिसकेको र फोहरमैला व्यवस्थापनको बोलपत्र प्रकिया सकेर काम चाँडै सुरु गर्ने पैयूँ गाउँपालिकाका अध्यक्ष तोरण मल्ल ठकुरीले बताए । फोहरमैला परियोजना गाउँपालिकाको गौरवको योजना रहेको र फोहरलाई मोहोरमा बदल्ने गरी कामअघि बढेको उनले बताए ।

यो परियोजना सञ्चालनमा आएपछि कुहिने र नकुहिने फोहर वर्गीकरण गरी यस्लाई व्यवस्थित बनाइने भएको छ । यो परियोजना लागू भएपछि स्थानीयवासीलाई रोजगारीसमेत हुने अध्यक्ष ठकुरीले बताए ।  गाउँपालिका फोहरमैला व्यवस्थापनबारे गाउँपालिकाले सार्वजनिक सुनुवाइ कार्यक्रमसमेत गरेको छ । गाउँपालिका अन्तर्गत हातेमालोचोक, हुवारबजार, भोर्लेबजार, त्रिवेणी, सरौँ लगायतका क्षेत्रमा बजारीकरण बढ्दै गएको छ ।

You might also like

Comments are closed.