वैदेशिक रोजगारी छोडेर गाँउमै उद्यम, भन्छन् विदेशमा गर्ने परिश्रम नेपालमा गरे सफल भईन्छ

झलनाथ खनाल भजनी ।  कैलालीको जानकी गाउँपालिका वडा नं– ८ भगरैयाका युवा विनोद विक अफ्रिकाको सेसलमा पाँच वर्ष बसेर फर्किए । त्यहाँ उनको आम्दानी राम्रै थियो । त्यहाँ बस्दा उनको मासिक आम्दानी २ लाख ५० हजार रुपैयाँ भन्दा बढी थियो । त्यो आम्दानी छोडेर उनि स्वदेश फर्किएको करिब ४ वर्ष भयो । वैदेशिक रोजगारीका क्रममा झण्डै एक करोडभन्दा बढी कमाएर फर्केको उनको भनाइ छ ।

स्वदेश फर्केर वैदेशिक रोजगारीका क्रममा कमाएको रुकमको ठूलो हिस्सा उनले भैंसीपालनमा खर्च गरेका छन् । विगत एक वर्षदेखि आफ्नै गाउँमा भैँसीपालन शुरु गरेका विकको भैँसी फर्म त्यस क्षेत्रको नमुना छ । उनका अनुसार भैंसीपालनमा हालसम्म रु ८५ लाख खर्च भइसकेको छ । उनले भैँसीपालनमा लगानी थप्दै गएको बताएका छन् । “विदेशमा गरिने परिश्रम नेपालमा गर्न सके सफलता प्राप्त गर्न गाह्रो छैन, विकले भने, “विदेशमा १८ घण्टा काम गर्छौँ कमाइ भएको देख्छौँ । तर स्वदेशमा काम ८ घण्टा पनि गर्दैनौँ कमाई चाही धेरै खोज्छौँ । अनि जति कमाए पनि कमै देख्छौँ ।’’

दैनिक ५० देखि ६० लिटर दूध बेच्दै आएको बताउँदै उनले चारजना भाइले भैंसीफार्ममा काम गर्ने गरेको बताए। विदेशमा काम गर्नुभन्दा स्वदेशमै केही गर्नुपर्छ भन्ने सोचले स्वदेश फर्किएको उनले बताए । ‘‘कति अर्काको लागि मात्रै काम गर्ने भन्ने सोचेर घर फर्किएको हुँ’’ उनले भने, ‘‘आफ्नो ठाउँमा काम गर्दाको आनन्द नै बेग्लै हुने रहेछ ।’’

footwear zone

टीकापुर नगरपालिका–६ नारायणपुरका हिरण्य गिरी पनि रोजगारीकै लागि पाँच वर्ष मलेसिया बसेर फर्केका हुन्। उनि मलेसियामै बिरामी परे । हातखुट्टा चल्न छोड्यो र काम गर्न नसक्ने भएपछि स्वदेश फर्किए । यहाँ केही समयको औषधि उपचारपछि सञ्चो भयो । त्यसपछि विदेशमा काम गर्दाको दुःख सम्झिदै स्वदेशमै केही गर्ने सोच बनाए उनले । विदेशको दुःख सम्झिएपछि उनले स्वदेशमै केही काम गर्ने प्रण लिउ । उनले स्थानीयवासी सुमनप्रसाद श्रेष्ठसँगको समन्वय तथा सल्लाहअनुसार गाउँमै बङ्गुरपालन शुरु गरे ।

करिब २२ लाख रुपैयाँ लगानीमा शुरु भएको टप एग्रिकल्चर बङ्गुर फार्ममा अहिले ४५ बङ्गुर छन् । यस बङ्गुर फार्मबाट बच्चा उत्पादन गरेर बिक्री गर्ने उद्देश्य उनको छ । अहिले यस बङ्गुर फर्ममा पाठा उत्पादन हुन थालेका छन् । विभिन्न ठाउँबाट माग पनि आइरहेको छ । तर अझै पाठा बेच्ने बेला भने आइसकेको छैन । ‘‘विभिन्न जिल्लाबाट किसानले माग गर्न थालेका छन्’’ उनले भने, “थोरै मात्रामा बेच्न शुरु गरे पनि अहिल्यै बेचिसकेको छैन । जुन माग अहिले छ त्यसअनुसार उत्पादन हुनसके विदेशमा विरामी भएर र यसै बिताएको समयको पनि म नाफा निकाल्न सक्ने अवस्थामा पुग्छु ।’’ उनको चारजनाको परिवार बङ्गुर फार्ममै संलग्न छ ।

जानकी गाउँपालिका–८ पहाडीपुरका प्रेमराज जोशी पनि मलेसियाबाट फर्केर गाउँमै व्यावसायिक तरकारी खेतीमा लागेका छन् । उनिसँग पनि वैदेशिक रोजगारीका क्रममा कैयौँ दुःख झेलेको अनुभव छ । विसं २०६७ मा रोजगारीका लागि मलेसिया छिरेका प्रेमराज २०७१ सालमा स्वदेश फर्किए । स्वदेश फर्किएपछि उनलाई के गरौँ र कसरी केही आयआर्जन गरौँ भन्ने कुनै अन्योल भएन । थोरै रकम कमाएर फर्किएका प्रेमराजको अढाई बिघा खेतबारी छँदै थियो । त्यसैले उनले तरकारीखेती शुरु गरे ।

शुरुआतमा बारीमा फलेको तरकारी साइकलमा बोकेर बजार पु¥याउने गर्थे उनले । त्यही तरकारी खेतीबाट भएको आम्दानीबाट केही समयपछि मोटरसाइकल किन्न सफल भएका जोशीसँग अहिले बारीमा उत्पादन भएको तरकारी बजारसम्म पु¥याउनको लागि मिनि ट्रक पनि छ ।

उनको परिवार तरकारी खेतीमा संलग्न छ । दुई जनालाई जोशीले वर्षभरि नै रोजगारी दिनुभएको छ भने उनको तरकारी फार्ममा दैनिक ज्यालादारीमा काम गर्नेको सङ्ख्या पनि धेरै नै छ । उनको तरकारी खेतीले गाउँमै रोजगारी सिर्जना गरेको छ । कुनै बेला रोजगारीका लागि मलेसिया भासिएका जोशी अचेल गाउँमै रोजगारदाताका रुपमा चिनिएका छन् भने अहिले उनकै सिको गर्दै कैयौँ युवा तरकारी खेतीमा आकर्षित भएका छन् ।

गाउँमा उत्पादन भएको अन्य व्यवसायीको तरकारी समेत खरिद गरी बजार पु¥याउने काम समेत उनले गरेका छन् । बारीमा यतिबेला बोडी, लौका, करेलालगायतका तरकारी टन्न फलेका छन् । कोरोना महामारीका कारण मुलुकमा केही समयअघि भएको बन्दाबन्दीका कारण भने उनको आम्दानीमा केही असर परेको छ । लकडाउनका कारण होटल बन्द छन् । बारीमा फलेको तरकारी खपत हुनसकेको छैन । ‘‘लकडाउनले केही हदसम्म असर पारेको छ’’ उनले भने– ‘‘तर तरकारी खेतीमा लागेर राम्रै आम्दानी भइरहेको छ ।’’

टीकापुर नगरपालिका–५ नुक्लीपुरका प्रकाश ओड युएइस्थित दुबईको एक होटलको राम्रो जागिर छोडेर फर्किए । सन् २०१५ मा दुबई पुगेका ओड २०१९ मा स्वदेश फर्किएका हुन् । उनले अहिले गाउँमै बाख्रापालन शुरु गरेका छन् । बाख्राबाट राम्रो आम्दानी हुने भन्दै व्यावसायिक बाख्रापालनमा लागेका ओडले विदेशभन्दा स्वदेशमै राम्रो आम्दानी हुने भन्दै बाख्रापालनमा लागेको बताए ।

उनले बोयर जातको बाख्रा पाल्ने लक्ष्य रहेको बताए । “लोकल जातको बाख्राको नश्ल सुधारको कामको थालनी भइसकेको छ र यसका लागि रु दुई लाख ५० हजार खर्च गरेर अष्टे«लियाबाट बोयर जातको बोका ल्याएको छु । उनले भने, “थप १५ ओटा बोयर जातको बाख्रासमेत मगाएको छु, केही दिनभित्रै आइपुुग्छ, मासु उत्पादन र बिक्री गर्ने मेरो लक्ष्य छ ।’’

वैदेशिक रोजगारीबाट फर्केर कृषि क्षेत्रमा लागेका यी केही उदाहरणीय पात्र मात्रै हुन् । हाम्रो गाउँ समाजमा अझ थुप्रै युवाहरु वैदेशिक रोजगारीबाट फर्केर कृषि क्षेत्रमा लागेका छन् र उनीहरुले विदेशमाभन्दा राम्रो आम्दानी र अझ त्योभन्दा पनि राम्रो सन्तुष्टि आर्जन गर्न सफल भएको देख्न सकिन्छ । उनीहरुमध्ये धेरैजसोको भनाइ आफ्नै देशमा केही गर्नुपर्छ भन्ने छ । जसले समाजका अन्य युवाहरूलाई समेत प्रेरणा मिलेको छ ।

रानी जमारा कुलरियाको राम्रो सहयोग

कृषि क्षेत्रमा रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाइले महत्वपूर्ण सहयोग गर्दै आएको छ । रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषितर्फले कृषि क्षेत्रमा सहयोग गर्दै आएको छ । कार्यालयले विभिन्न किसानलाई वर्र्सेनी लाखौँ रुपैयाँ बराबरको कृषि औजार, मलखाद, बीउबिजन, विषादीलगायत सहयोग गर्ने गरेको छ । वैदेशिक रोजगारीबाट फर्केर स्वदेशमै कृषि क्षेत्रमा लागेका अधिकांश युवाहरु समेत कार्यालयबाट लाभान्वित भएका छन् । समाचारमा उल्लेखित सबै युवाले कार्यालयबाट केही न केही सहयोग प्राप्त गरेका छन् भने त्यस सहयोगले पेशामा लाग्न झन् मद्दत पुगेको युवाहरू बताउँछन् ।

कार्यालयका कार्यालय प्रमुख भरत कँडेलले कृषि क्षेत्रमा लाग्न युवालाई प्रोत्साहित गर्ने खालका विभिन्न कार्यक्रम सञ्चालन हुने गरेको बताए । धेरैभन्दा धेरै युवाहरु कृषि क्षेत्रमा लागेर कृषि उपजमा आत्मनिर्भर बन्ने उद्देश्य रहेको बताउँदै अझै पनि युवाहरूले आयोजनाबाट थुप्रै प्रकारको लाभ लिनसक्ने कार्यक्रम रहेको उनले बताए । किसानले उत्पादन गरेको वस्तुको बजारीकरणमा समस्या रहेको बताउँदै त्यसका लागि स्थानीय सरकारले पहल गर्नुपर्ने कडेंलले बताए ।

उहाँले कोरोनाका कारण रोजगारी गुमाइ व्यावसायिक कृषिमा लाग्न चाहने युवाहरुलाई प्राथमिकतामा राखिने भन्दै थप कार्यक्रमका लागि समन्वय भइरहेको बताउनुभयो ।

रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाइले गत आर्थिक वर्षमा कृषि क्षेत्रका लागि करिब रु २३ करोड बजेट विनियोजन गरेको थियो भने चालू आर्थिक वर्षका लागि रु २८ करोड ८८ लाख विनियोजन गरेको जनाएको छ ।
–––

You might also like

Comments are closed.