विजयपुर । ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले रौतहटको समनपुर शाखाका ८० जना सदस्यहरुलाई बाख्रापालन सम्बन्त्री तालिम दिएको छ ।
पोखरा म.न.पा.मा केन्द्रीय कार्यालय रहेको ग्लोबल आईएमई लघुवित्तले आफ्ना ग्राहकहरुलाई विभिन्न सीपमूलक तालिम प्रदान गर्ने तथा अवलोकन भ्रमण गराउने क्रममा समनपुरका सदस्यहरुलाई पनि बाख्रापालन तालिम प्रदान गरेको हो ।
वित्तीय संस्थासंग आवद्ध सदस्यहरुको आम्दानीको श्रोत वृद्धि गराउने उद्देश्यका साथ संचालन भएको तालिममा शाखा प्रमुख राजु लामाले अध्यता गरेका थिए भने दहियार स्टेशन कार्यालयका प्रमुख भुपेन्द्रबहादुर खड्का प्रमुख अतिथि रहेका थिए ।

तालिममा पशु स्वास्थ्य डाक्टरद्वय सुलभकुमार चौधरी तथा केशव खड्काले बाख्रा पालन गर्दा हुने फाइदा, बाख्रा पालन गर्ने तरिका तथा बाख्रालाई रोग लाग्दा कसरी रोकथाम गर्ने भन्ने विषयमा तालिम दिएका थिए । विगत आर्थिक वर्षहरु जस्तै यस आर्थिक वर्षमा पनि वित्तीय संस्थाले ग्राहक संरक्षण कोषअन्तर्गत आफ्ना सदस्यहरुलाई तालिम तथा अवलोकन भ्रमणलगायत विभिन्न कार्यहरुमा सहयोग गर्दै आएको छ ।
हाल ११९ वटा शाखा कार्यालय रहेको यस वित्तीय संस्थाले १ लाख ४८ हजार २०५ घरधुरीलाई लघुवित्त सेवा प्रदान गर्दै आएको छ । त्यस्तैगरी आफ्ना ग्राहक सदस्यहरुलाई ८ अर्ब ५३ करोड ६६ लाख रुपैंया बराबर कर्जा लगानी गरेको छ भने उनीहरुबाट २ अर्ब ९९ करोड ३१ लाख रुपैयाँ निक्षेप संकलन गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत हरिकृष्ण जोशीले जानकारी दिए ।




Comments are closed.