काठमाडौं । नेपाली बजारमा पछिल्लो समयमा सुनचाँदीको मूल्य लगातार बढीरहेको छ । मंसिर महिना लगनको सिजन भएकाले पनि यस महिनामा सुनचाँदीको बढी कारोबार हुने गर्छ ।
शुक्रबार एकैदिन तोलामा १ हजारले बढेको सुनको मूल्य यस साताको पहिलो कारोबार दिन आइतबार पनि पुनः तोलामा ४ सय रुपैयाँले बढेको छ । लगातार मूल्य बढ्दा व्यवसायीलाई नाफा भएपनि सुन किन्ने ग्राहक भने मर्कामा परेका छन् ।
आइतबार तोलामा ४ सयले बढेर छापावाल सुन तोलाको ९९ हजार ५ सय रुपैयाँ कायम भई कारोबार भइरहेको नेपाला सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुत्रबार ९९ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज तेजाबी सुन तोलाको ९९ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।त्यसैगरी, आइतबार चाँदी तोलामा २५ रुपैयाँले बढेको छ ।
तोलामा २५ रुपैयाँले बढेसँगै आज चाँदी तोलाको १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । शुक्रबार चाँदी तोलाको १३ सय ४५ रुपैयाँमा कारोबार भएको थियो । महासंघले अन्तर्राष्ट्रिय बजारको सुन तथा चाँदीका कारोबार मूल्यका आधारमा यहाँ दैनिक मूल्य तोक्दै आएको छ ।




Comments are closed.