दीपक श्रेष्ठ/गोरखा । गोरखा नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८÷७९ को बजेट एवं नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गरेको छ । नगरपालिकाकी उपप्रमुख बिनाकुमारी श्रेष्ठले आगामी आर्थिक वर्षका लागि कूल रु एक अर्ब ५ करोड १ लाख २२ हजार ७३५ को बजेट सार्वजनिक गरेकी हुन् ।
नगरपालिकाले सार्वजनिक गरेको बजेटअन्र्तगत नेपाल सरकारबाट वित्तिय अनुदान समानीकरणबाट प्राप्त भएको रु २३ करोड ४९ लाख, सशर्त अनुदानबाट प्राप्त रु ३३ करोड ४६ लाख, राजस्व बाँडफाँडबाट प्राप्त भएको रु १० करोड २१ लाख ६४ हजार रहेको उपप्रमुख श्रेष्ठले जानकारी दिए । त्यस्तै विद्युत रोयल्टी वापत रु एक करोड ५७ लाख ६० हजार, ९३५, प्रदेश सरकार वित्तीय समानीकरण अनुदानबाट रु एक करोड ३० लाख ४ हजार, राजस्व बाँडफाँडबाट रु एक करोड ३० लाख ४ हजार, समपूरक अनुदान ५० लाख, नगरपालिकाको आन्तरिक स्रोतबाट ८ करोड, सडक बोर्ड नेपालबाट प्राप्त भएको रु ५० लाख बजेटमा समावेश भएको उनले बताइन् ।
नगरपालिकाले सार्वजनिक गरेको बजेटमा बुहक्षेत्रीय पोषण कार्यक्रम, गाउँनगर साँझेदारी कोषबाट प्राप्त रकम, घरजग्गा रजिष्ट्रेसन, सामाजिक सुरक्षा, नगद मौज्जात ४ करोड र नगद लागत सहभागिता बापतको रु दुई करोड रहेको उपप्रमुख श्रेष्ठले जानकारी दिइन् ।

बजेटको प्राथामिकता : गोरखा नगरपालिकाले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटमा कोभिड–१९ को महमारीबाट नगरवासीको जीवन रक्षा र जनजीवन सामान्यीकरण गर्नेतर्फ उच्च प्राथामिकता दिएको छ ।
त्यस्तै नागरिकका मौलिक हकलाई स्वास्थ्यसँग एकाकार गर्दै मानव विकासको सूचकाङ्कका न्यूनतम आधारभूत आवश्यकताको परिपूर्ति गर्न तथा विपन्नता र पछौटेपनको अन्य गरी समावेशी र समुन्नत समाज निर्माण गर्नेतर्फ बजेटले जोड दिएको छ । आर्थिक भौतिक तथा सामाजिक पूर्वाधार विकासका साथै कृषि र पशुपालनलाई व्यावसायिकरण गर्ने, आत्मानिर्भर अर्थतन्त्र निर्माण तथा नगरपालिकाबाट प्रदान गर्ने सेवा सुविधालाई प्रविधिमैत्री बनाउनेतर्फ पनि बजेटले प्राथामिकता दिएको छ ।
उपप्रमुख श्रेष्ठले घोषणा गरेको बजेटमार्फत नगरपालिकाभित्र गुणस्तरीय शिक्षाको विकास, स्वच्छ खानेपानी तथा सरसफाइ, पर्यटन क्षेत्रको विकास र प्रर्बद्धनका साथै कृषि क्षेत्रको आधुनिकीकरणमार्फत उत्पादन र उत्पादकत्व बढाउने लक्ष्य लिएको छ । पूर्वाधार विकासमा जोड दिइएको नगरपालिकाको आगामी आर्थिक वर्षको बजेटमा अधुरा तथा क्रमागत आयोजना सम्पन्न गर्ने र सङ्घीय तथा प्रदेश सरकारसँगको सहकार्य, समन्वयमा जोड दिने घोषणा बजेट मार्फट गरिएको छ ।
प्रत्येक वडामा न्यूनतम ९० लाख रकम विनियोजन : गोरखा नगरपालिकाले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटमा नगरपालिका भित्रका वडाहरूमा वडागत योजनालाई प्राथामिकता दिँदै न्यूनतम रु ९० लाख रकम विनियोजन गरेको छ । वडागत रूपमा विनियोजन गरिएको बजेटमार्फत शिक्षा, स्वास्थ्य, युवा तथा खेलकूद, वन तथा वातावरण सरसफाई सँगै वडास्तरीय विपत व्यवस्थापनमा जोड दिइएको उनले घोषणा गरे । सबै वडाका लागि गरी कूल रु १२ करोड ६० लाख वडागत कार्यक्रमका लागि विनियोजन भएको उपप्रमख श्रेष्ठले जानकारी दिइन् ।
राजस्व लक्ष्य ४ करोड : नगरपालिकाले आगामी आर्थिक वर्षमा रु ४ करोड ४२ लाख ५८ हजार ४७६ राजस्व उठाउने लक्ष्य लिएको नगरपालिककी उपप्रमुख बिनाकुमारी श्रेष्ठले घोषणा गरिन् । उनले आगामी आर्थिक वर्षका लागि राजस्व सङ्कलनमा सुधार गर्न क्षमता अभिबृद्धिलगायत तालिम सञ्चालका लागि समेत रु १० लाख ३० हजार बजेट विनियोजन गरेको जानकारी दिइन् ।




Comments are closed.