काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले साना तथा घरेलु व्यवसायको योगदान समग्र अर्थतन्त्रमा धेरै महत्वपूर्ण रहेको बताएका छन् ।
नेपाल घरेलु तथा साना उद्योग महासंघका पदाधिकारीसँग सोमबार श्रव्यदृश्यमार्फत आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा उनले भने, “ संसारभरी नै साना तथा मझौला उद्योगको भूमिका हेर्ने हो भने संख्यात्मक हिसाबले पनि महत्वपूर्ण रहेको र अर्थतन्त्रमा योगदान पनि धेरै अर्थपूर्ण रहेको छ ।”
नेपाल राष्ट्र बैंकले पनि आफ्नो आफ्ना नीतिमा यस क्षेत्रलाई प्राथमिकता राख्दै आएको र चालु आवकोे मौद्रिक नीतिमार्फत ऐतिहासिक परिवर्तन नै ल्याउन खोजेको स्पष्ट पारे ।

सहुलियतपूर्ण कर्जा पनि प्रत्येक शाखामा १० वटा आवेदन आउनुपर्ने र सँगसँगै कूल कर्जाको १५ प्रतिशत रु एक करोड भन्दा साना कर्जामा जानुपर्ने व्यवस्था यस क्षेत्रलाई गरिएको उनको भनाइ थियो ।
महासंघका अध्यक्ष श्याम गिरीले उद्योगीले लिएको कर्जामा निषेधाज्ञा अवधिको ब्याज मिनाहा गर्न माग गरे। साना उद्योगीको हकमा पुनकर्जा सम्बन्धी कार्यविधिलाई पुनलेखन गर्नुपर्ने जरुरी रहेको भन्दै उनले पुनकर्जा कार्यविधि पुनलेखन कार्यमा घरेलु महासंघलाई पनि सहभागी गराइनुपर्ने बताए ।
सो अवसरमा महासंघका निवर्तमान अध्यक्ष सुरेश प्रधान, पूर्व अध्यक्ष लता प्याकुरेल, वरिष्ठ उपाध्यक्ष उमेशप्रसाद सिँहलगायतले साना तथा मझौला उद्योगको विकासमा विशेष ध्यान दिन आग्रह गरे ।




Comments are closed.