घाँस खेतीबाट आम्दानी गर्दै महिला

कृष्ण दर्नाल, पाल्पा । पाल्पाको तानसेन नगरपालिकाका महिला पछिल्लो समय घाँस खेतीबाट मनग्य आम्दानी गर्न थालेका छन् ।

परम्परागत रुपमा गरिने कृषि पेसाभन्दा घाँसबाट मनग्य आम्दानी हुन थालेपछि उनीहरु व्यावसायिक घाँस खेतीतर्फ आकर्षित भएका हुन । तानसेन नगरपालिका–५ अर्चलेका महिलाले सामूहिक तथा निजी रुपमा व्यावसायिक रुपमा घाँसखेती गरी रु १५ हजार देखि रु २५ हजारसम्म आम्दानी गर्न सफल भएका छन् ।

विगत केही वर्षदेखि घाँसको बीउ र घाँस बिक्री गर्दै आएका तानसेन–५ अर्चलेकी मीना सोमैले घाँस बिक्री गरेर वार्षिक रु २० हजार आम्दानी गर्दै आएकी छिन् । झण्डै आठ रोपनीमा सुपर नेपिर र मुलाटो घाँसखेतीबाट पहिलो वर्ष नै उनले वार्षिक रु २० हजारभन्दा बढी आम्दानी गरेको बताइन् । उनले भनिन्, “शरीरमा जाँगर र मनमा इच्छाशक्ति भए थोरै लगानीबाट पनि प्रशस्त आम्दानी गर्न सकिँदो रहेछ ।”

footwear zone

विगतमा धान तथा मकैखेती गरे पनि बाँदरको समस्याले लगानी अनुसारको प्रतिफल प्राप्त गर्न नसक्दा यस वर्ष त्यही खेतबारीमा रोपिएको घाँस खेतीबाट राम्रो आम्दानी लिन सफल भएको उनको भनाइ छ । मनग्य आम्दानी लिन सफल भएपछि घाँस खेतीतर्फ लोभ्याएको उनले अगामी वर्ष सुपर नेपिर र मुलाटो घाँसखेती अझै बढी क्षेत्रफलमा लगाउने योजना बनाएको बताइन् ।

पाल्पामा व्यावसायिक रुपमा पशुपालन गर्ने सङ्ख्या पनि बढेको छ । गाईभैँसीपालन, बाख्रापालन, बङुगुरपालनको सङ्ख्या बढेको हो । पशुपालन बढेसँगै घाँसको माग समेत उच्च रहेको पाइन्छ । सुपर नेपियरको तीन आँख्लालाई ५ रुपैयाँमा बिक्री हुँदै आएपछि महिला उत्साहित भएका छन् ।

तानसेन नगरपालिका, संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम(युएनडिपी) र ग्रामीण आर्थिक विकास सङ्घको सहयोग तालिम, घाँसको बीउ लगायतको सहयोग पाएपछि यहाँका महिला व्यावसायिक रुपमा घाँसखेती गरी गरिबी हटाउन लागिपरेका हुन् । तानसेन–५ अर्चलेस्थित आदर्श स्वालम्बन महिला समूहले गरेको व्यावसायिक घाँसखेतीबाट यसपाली रु दुई लाख आम्दानी गर्न सफल भएको समूहकी अध्यक्ष निर्मला हमालले बताइन् ।

घाँसको बिरुवा बिक्रीबाट ठूलो आम्दानी हात परेपछि समूहका सदस्यले समेत निजी जग्गामा व्यावसायिक रुपमा खेती गर्न थालेको समूहकी अध्यक्ष हमालले बताइन् । घाँस खेतीपछि व्यावसायिक रुपमा बाख्रापालनसमेत यस क्षेत्रमा फैलिएको छ । पोषणयुक्त घाँस पशुपक्षी खुवाउँदा छिटो हुर्किने गरेको अनुभव हमालले सुनाइन् । “पहिला अरुले घाँस बेचेको सुनिएको थियो, अहिले आफैले घाँस बेचियो, दुई लाख आम्दानी भएपछि काम गर्न थप उत्साह जागेको छ,” हमालले भनिन् । आदर्श स्वालम्बन महिला समूहमा अहिले तीन जना भन्दा बढी महिला आवद्ध रहेका छन् । समूहले घाँसको नर्सरीसमेत स्थापना गरी सदस्यलाई बिरुवा वितरण गर्दै आएको छ ।

घाँस बिक्रीबाट सङ्कलन भएको रकम समूहका महिला सदस्यको हितमा लगानी गर्दै आएको छ । बाख्रा तथा कुखुरापालनका निम्ति खोर निर्माण गर्न ऋण सहयोग गर्दै आएको समूहकी सदस्य लेखकुमारी सोमैले बताइन् । ग्रामीण आर्थिक विकास सङ्घ रेडाका कार्यकारी निर्देशक लीलाबहादुर कार्कीले ग्रामीण क्षेत्रमा बसोबास गर्ने महिलाले घाँसखेती गरी आम्दानी गरेसँगै सामाजिक सांस्कृतिक, आर्थिक हैसियत सुधार भएको बताए । उनले महिला आत्मनिर्भर हुँदै गएर परिवारमा खुसी ल्याएको बताए । घाँसखेती तानसेन नगरपालिका–१, ५, ९, ११, १२ मा महिलाले समूह गठन गरी व्यावसायिक रुपमा घाँसखेती गरेका छन् । ६० रोपनी भन्दा बढी क्षेत्रफलमा गरिएको घाँस खेतीबाट झण्डै सय भन्दा बढी लाभान्वित भएको सङ्घले जनाएको छ ।

तानसेन नगरपालिकाभित्र रहेका पाँच समूहमार्फत गरिएको घाँसखेती पशुपालन सहजता ल्याएको र पोषणयुक्त आहाराका रुपमा सुपर नेपिर खुवाउने चलन पशुपक्षी उत्पादनमा राम्रो हुने विज्ञको भनाइ छ । व्यावसायिक पशुपालनसँगै घाँस खेतीतर्फ जिल्लावासीको आकर्षण बढ्दो छ ।

You might also like

Comments are closed.