अनुगमन तीव्र पार्दै गृह मन्त्रालय

काठमाडौं । गृह मन्त्रालयले मातहतका निकायका कामकारवाहीको अनुगमनलाई तिब्रता दिनेभएको छ । आव २०७७÷७८ को प्रथम चौमासिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको शुक्रवारको बैठकमा गृहमन्त्री रामबहादुर थापाले मातहतका निकायले लिएको जिम्मेवारी र त्यसको कार्यान्वयनको अवस्थाबारे कडाइका साथ अनुगमन गर्न लागिएको जानकारी दिए ।

मन्त्रालयले सातै प्रदेशको अनुगमनका लागि सहसचिवको नेतृत्वमा छुट्टाछुट्टै अनुगमन टोली गठन गरिसकेको छ । मन्त्री थापाले कोरोनालगायतका कारण प्रथम चौमासिकमा अपेक्षित उपलब्धि नदेखिएको समेत जानकारी गराए । मातहतका निकायलाई आगामी दिनमा आफ्ना गतिविधिलाई चलायमान गराउँदै उपलब्धि हासिल गर्न तर्फ लाग्न उनले निर्देशनसमेत दिए ।

उनले भने, “कतिपय कामका लागि छुट्याइएको बजेटको उपयोग भएको देखिएन, कतिपय कामलाई बजेट नपुगेको देखियो, प्रथम चौमासिकको समीक्षा गरिरहँदा दोस्रो चौमासिक योजना सफल पार्न अहिले देखिएका कमीकमजोरी हटाउने योजना बनाउनुहोस् ।”

footwear zone

गृहमन्त्री थापाले विकास र समृिद्धको लक्ष्य प्राप्तिका लागि शान्ति, सुरक्षाको प्रत्याभूति अनिवार्य शर्त रहेको स्मरण गराए । सोहीअनुरुप योजना बनाउन मातहतका निकायलाई आग्रहसमेत गरे।

बैठकमा गृह मन्त्रालयअन्तर्गतका नीति, योजना तथा कार्यक्रम महाशाखा, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, अध्यागमन विभाग, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग, कारागार विभागलगायतका निकायले आफ्नो प्रथम चौमासिकको कार्य प्रगति विवरण पेश गरेका थिए ।

You might also like

Comments are closed.