विदेश जाने मोहले नतानेपछि गाँउमै कृषिकर्म, मासिक १ लाख बचत

गलकोट ।गलकोट क्षेत्रका अधिक त जापानमा छन् । त्यसबाहेक, अमेरिका, अष्ट्रेलियालगायत देशमा नपुगेको कमै परिवार भेटिन्छ ।  गलकोटलाई जापाने गाउँसमेत भनिँदै आएको छ । यस्तो समाजमा आफ्नै गाउँ ठाउँमा केही गरेर कमाउने र रमाउने युवा पनि कमै छन् । गलकोट नगरपालिका–३ हटियाका गुमानसिंह खत्री यस मध्येमै पर्छन् । अधिकांश साथीहरु जापान अमेरिका गए पनि उनको मन कहिल्यै विदेश मोहमा तानिएन ।

खत्रीलाई सानै उमेरबाट कृषिप्रति लगाव रहिरह्यो । उमेरले ४५ वर्ष पुगेका खत्रीले २५ वर्षदेखि व्यावसायिक कुखुरापालन, २०५७ सालदेखि फ्रेस हाउस, २०६३ सालदेखि हाइटेक प्रविधिमार्फत तरकारी खेती र २०७२ सालदेखि व्यावसायिक किबी खेती गर्दै आएका छन् । “यहाँका अधिकांश साथीहरु विदेश पलायन भएका छन् । विदेशमा पनि धन कमाउन त्यति सजिलो छैन”, खत्रीले भने, “स्वदेशमा आफैँ माटोमा रमाएर धेरथोर कमाउदा पनि सन्तुष्ट छु, विदेश जाने कहिल्यै मोह आएन ।” निरन्तर २५ वर्षदेखि ब्रोइलर कुखुरा पालन गर्दै आएका खत्रीले पछि तरकारी तथा किबी खेती पनि शुरु गरे ।

खत्री आफू मात्रै हैन, गलकोट क्षेत्रलाई तरकारी र मासुमा पाँच वर्षभित्र आत्मनिर्भर गर्ने गरी नगरस्तरीय कृषि सञ्जालको अध्यक्ष भएर कृषि जागरण ल्याउनमा सक्रिय छन्। गलकोट क्षेत्रमै २०५२ सालमा पहिलो पटक व्यावसायिक कुखुरापालन शुरु गर्दा धेरैले पत्याएका थिएनन्, गुमानसिंह सफल कृषक बन्नेछन् भनेर । उनले विगत स्मरण गर्दै भने, “यो बीचमा धेरै उतार चढाव आए, कहिले घाटा भयो, कहिले नाफा भयो ।”

footwear zone

निरन्तरको कृषि लगावका कारण कृषक खत्री अहिले बागलुङकै सफल कृषकका रुपमा परिचित छन् । जामुने कृषि फर्ममार्फत व्यावसायिक उत्पादन गर्दै आएका खत्रीको फर्ममा ८०० ब्रोइलर कुखुरा, चार हाइटेक टनेल, चार सामान्य टनेलमा सिमी, बोडी, गोलभेडालगायत तरकारी उत्पादन भएका छन् भने काउली बन्दा लगाउने क्रम शुरु भएको छ ।

“कुखुराबाट वार्षिक १५ लाख र तरकारीबाट वार्षिक ६ लाख कारोवार हुन्छ”, खत्रीले भने “दुदिलाभाटीमा लगाएको किबी खेतीले बल्ल उत्पादन दिन थालेको छ, अघिल्लो वर्षमा तीन लाखको किबी बिक्री गरे ।” खत्रीका अनुसार लगभग वार्षिक १२ लाख बचत हुने गर्दछ ।

सबै आम्दानीबाट खर्च कटाउदा वार्षिक पाँच लाख रकम बचत गर्दै आएको उनको भनाइ छ । उनको काममा आमा, श्रीमती र अन्य दुई कामदार खटिँदै आएका छन् । जेटिए स्तरको तालीम लिएका खत्रीले हालसम्म १२ लाख बढी रकम सरकारीस्तरबाट अनुदान पाईसकेका छन् ।
दुदिलाभाटीमा खत्रीले २० रोपनीमा पाँच वर्षदेखि किबी खेती गर्दै आएका छन् । २०० किबीको बोटबाट गत वर्ष तीन लाख कमाइ गरेको उनि बताउछन् । अहिले १५ क्वीन्टलभन्दा बढी उत्पादन गर्ने लक्ष्य रहेको खत्रीको भनाइ छ । फलको राजाको रुपमा चिनिँदै आएको किबी स्थानीयस्तरमा भने बिक्री नभएको उनि बताउछन् । “किबीको महत्व बुझाउँदैछु, अहिले उत्पादन भएको किबी काठमाडौं, पोखरा निर्यात हुन्छ”, उनले भने, “नयाँ फल भएकाले यसको महत्व बुझेमा स्थानीयस्तरमा नै खपत हुनेमा आशावादी छु ।”

गलकोट नगरपालिकालाई कृषिमा आत्मनिर्भर गराउने उद्देश्यले किसानको मागअनुसार नगरपालिकाले कार्यक्रम बनाउने, कृषकलाई सङ्गठित गर्ने र नगरपालिका भर कृषि जागरण ल्याउने अभियानमा लागिरहेको खत्रीको भनाइ छ । खत्रीले उत्पादन गर्दै आएका किबी बाहेकका अन्य कृषि उपज गलकोट बजारमै बिक्री भएको बताउछन् ।

You might also like

Comments are closed.