दसैंको मुख्य दिनमा पनि रोकिएन निःशुल्क गुर्जो वितरण अभियान

काठमाडौं ।
नेपालीको महान् पर्व दसैंको बेला पनि कोरोना भाइरसबाट सङ्क्रमितलाई गुर्जोको बिरुवा, चिया र धुलो वितरणमा जुटे कमलबहादुर राजलवट ।

दसैंको मुख्य दिन विजयादशमीका दिन समेत उनले कोरोना सङ्क्रमित भई घरमै आइसोलेसनमा बसी गुर्जोका सामग्री माग्नेलाई सम्बन्धित स्थानमै पुगेर वितरण गरेका छन् । अभियानकर्मी राजलवटले हालसम्म १ लाखभन्दा बढी गुर्जोका बिरुवा निःशुल्क वितरण गसिकेका छन् ।

आन्तरिक राजश्व कार्यालय लहानमा प्रमुख कर अधिकृत पदमा कार्यरत उनले सरकारी निवासमा लगाएको गुर्जोबाट बिरुवा बनाई देशव्यापी रुपमा निःशुल्क वितरण गरिरहेका छन् । मानव शरीरमा रोग प्रतिरोधी क्षमता बढाउन उपयोगी वनस्पति गुर्जोको बिरुवा लगायत यसबाट बनेका सामग्री माग गर्नेको सङ्ख्या पनि हाल दिनप्रतिदिन बढिरहेको छ ।

footwear zone

महानवमी र विजयादशमीका दिन कोरोना सङ्क्रमित भई होम आइसोलेसनमा बसेका ४५ जनालाई बिरुवा, चिया र धुलो वितरण भएको छ । यसैगरी गोकर्णेश्वर नगरपालिका–५ सुगमनगरका स्थानीयवासीलाई ५०० वटा बिरुवा हस्तान्तरण गरिएको छ । स्थानीयवासीले त्यहाँको सार्वजनिक जग्गाका साथै घर घरमा गुर्जोको बिरुवा रोप्ने प्रतिबद्धता जनाएका छन् ।

यसैगरी शङ्खपार्कमा १००, बनेपा बसपार्कमा ५००, सुनाकोठीमा ८००, सिभिल होममा १०० गुर्जोको बिरुवा पनि दशैँका मुख्य दुई दिनमा वितरण गरिएको छ । गुर्जोको धुलो मधुमेह, उच्च रक्तचाप, ग्याष्ट्रिक, माइग्रेसन, मौसमी रुघा खोकी लगायत रोगका लागि पनि औषधीको काम गर्ने आयुर्वेदका चिकित्सक डा शेषराज आचार्यले जानकारी दिए । खाली पेटमा मनतातो पानीमा गुर्जोको धुलो राखेर खाएमा तरो ताजा अनुभव हुने गरेको छ । यसले शरीरभित्र रहेका कीटाणु मारी मानिसलाई स्फूर्ति दिन्छ ।

गर्भवती महिला र पाँच वर्ष मुनिका बालबालिकाका लागि भने गुर्जो सेवन गराउनु हुँदैन । आयुर्वेद शास्त्रको ‘यस्य देशस्य यो जन्तोः तस्य तद् औषधं हितम्’ अर्थात् जुन स्थानमा मानिस जन्मन्छन् तिनलाई औषधिको काम गर्ने वनस्पति त्यहीँ हुन्छ भन्ने भावना अनुसार देशव्यापी रुपमा गुर्जो रोपण अभियानलाई तीव्र बनाइएको हो ।

गुर्जोको धुलो मन तातो पानीमा मिसाएर एक हप्ता सेवन गर्ने बानी बसाले कोरोना पोजेटिभ भएकामा छिटो निको हुने गरेको जानकारी पनि अभियानकर्मी राजलवटले दिए । माग गर्ने जति सबैलाई निःशुल्क गुर्जोको बिरुवा, गुर्जोबाट बनेको चिया र धुलोसमेत उपलब्ध गराउने गरेको उनको प्रतिबद्धता छ ।

देशभर एक घर एक गुर्जोको बिरुवा रोप्नुपर्ने यो अभियानमा लागेकाको मत छ । राजलवटलाई योग शिक्षक एवं राष्ट्रिय योजना आयोगका सहसचिव किशोर जोशी, जीवन विज्ञानका प्रशिक्षक रामप्रसाद पन्थी, उपत्यकाका विभिन्न स्थानमा सक्रिय सफाइ अभियानकर्मी लगायतले गुर्जोको बिरुवा वितरण अभियानमा सहयोग गर्नुभएको जनाइएको छ । गुर्जोसँगै अमला, निम, तुलसीपत्र, समी, कपुर जस्ता औषधीय गुणले युक्त वनस्पति रोपणमा लाग्न पनि अभियानले आम मानिसमा आह्वान गरेको छ ।

You might also like

Comments are closed.