पोखरा । पोखरा उद्योग वाणिज्य संघको आसन्न निर्वाचनका लागि उपमहासचिव पदका उम्मेदवार हर्क अधिकारी (मिरज)ले सामूहिक उद्यमशीलताका क्षेत्रमा काम गर्नुपर्ने बताएका छन् । आफूले टिम नै बनाएर व्यवसायमा आबद्ध भएको बताउँदै उनले सामूहिक उद्यमशीलतामा सक्रिय हुँदा आफूसँगै अन्य व्यक्तिलाई पनि उद्यममा जोड्न सकिने बताए ।
आफूले संघमा निर्वाचित भएपछि उद्यमीहरु बढाउने अभियानमा सक्रिय हुने अधिकारीले आर्थिक आवाजसँग कुरा गर्दै बताए । भदौं २४ र २५ गते संघको महाधिवेशन हुँदैछ । ४ वर्षसम्म कार्यसमिति सदस्य भएर काम गरेका अधिकारीले उपमहासचिव पदमा उम्मेदवारी दिएका छन् ।
संघमा प्रोजेक्ट व्यवस्थापन समितिमा रहेर पनि काम गरेको अनुभव संगालेका अधिकारीले विदेशस्थित आइएनजिओसँग पनि राम्रो सम्बन्ध स्थापित गरेका छन् । संघको आर्थिक प्रगतिका लागि प्रोजेक्ट ल्याउन पहल गर्ने अधिकारीले बताए ।

‘प्रमुख एजेन्डा भनेको नेतृत्वको एजेन्डालाई सफल बनाउने हो । म सामुहिकतामा विश्वास गर्ने व्यक्ति भएको हुँदा मैले सामूहिक रुपमा धेरै व्यवसाय गरेको अनुभव छ । मैले धेरै संघ संस्थामा लागेर पनि उत्कृष्ट नेतृत्व गरिसकेको छु,’ उनले भने, ‘संघमा पनि २ कार्यकाल काम गरिसकेँ । अबको निर्वाचनबाट संघमा उपमहासचिव भएर काम गर्ने अवसर पाएमा नेतृत्वले दिएको जिम्मेवारी सफल रुपमा वहन गर्ने संकल्प गर्नेछु । आफूमा भएको ज्ञान र अनुभवलाई समय सापेक्ष रुपमा समूहमा लगेर त्यसलाई कार्यान्वयन गराउन मेरो तर्फबाट महत्वपूर्ण भुमिका रहनेछ । विदेशी लगानी भित्र्याउन पहल गर्नेछु ।’
लायन्समा विभिन्न पदमा रहेर काम गरिरहेका अधिकारी व्यवसायसँगै समाजसेवाका क्षेत्रमा सक्रिय छन् । लायन्सको अध्यक्ष हुँदा उनी डिष्ट्रिक्टकै उत्कृष्ट अध्यक्ष बन्न सफल भएका थिए । आफू म्यानेजमेन्टको विद्यार्थी भएकाले पनि व्यवसायीहरुको पिर मर्काको समाधानका लागि आफै अग्रस्थानमा खटिन सक्ने उनले बताए । संघको गरिमा उच्च बनाउन पहल गर्ने र अध्यक्ष एवं महासचिवको योजनालाई सफल बनाउन उपमहासचिवको पदमा भूमिका खेल्ने उनको प्रतिबद्धता छ ।
अधिकारी विगत २ दशकदेखि पोखरालाई केन्द्र बनाएर व्यावसायिक क्षेत्रमा सक्रिय छन् । सिटीवान टेलिभिजनका सञ्चालक एवं सचिवसमेत रहेका अधिकारी माउन्ट एभरेष्ट डेभलपर्स प्रा.लि का प्रवन्ध निर्देशक एवं वन्दिपुर केवलकार एण्ड टुरिजम लि. का सञ्चालकसमेत हुन् । अधिकारीले अध्यक्षका उम्मेदवार अर्जुन पोखरेलको प्यानलबाट उम्मेदवारी घोषणा गरेका हुन् ।




Comments are closed.