हाँस पालनबाट मनग्य आम्दानी

चितवन । पछिल्लो समय हाँसका परिकारको पारखी बढ्दै जाँदा हाँसपालनतर्फ यहाँका किसान आकर्षित हुन थालेका छन् । हाँस पाल्न र बिक्रीका लागिसमेत सहज हुन थालेपछि हाँसपालनतर्फ किसान आकर्षित हुन थालेका हुन् ।

भरतपुर–१९ शारदानगरमा हाँसपालन गर्दै आएका शंकर महतोले हप्तामा ५ सय वटा हाँसका चल्ला बिक्री गर्दै आएका छन् । महतोले इमानियल हाँस फार्म तथा ह्याचरी दर्ता गरेर करिब दुई हजार हाँस पाल्दै आएका छन् ।

उनले हाँस बिक्री वितरणका लागि बजार सहज भएकाले यसतर्फ आकर्षित भएको बताए । “मैले पहिले बुङ्गुरपालन गरेँ, माछापालन गरेँ, च्याउ खेती गरेँ । तर, विगत दुई वर्षदेखि हाँसपालन सुरु गरेको छु” महतोले भने, “हाँसबाट निकै नै सन्तुष्टि मिलेको छ । यसको बजार खोज्न हिँड्नुपरेको छैन । फार्मबाटै बिक्री हुने गरेको छ ।” महतोले आफ्नै फार्मबाट तयारी हाँस, हाँसका चल्ला तथा अण्डा बिक्री गर्दै आएका छन् ।

footwear zone

उनले प्रतिचल्ला रु १८० सम्म बिक्री गर्दै आएको बताए। त्यस्तै, हाँसको अण्डा रु ३० प्रति गोटा तथा तयारी हाँस प्रति किलोको रु ३५० मा बिक्री गर्ने गरेको महतोले बताए। “हाँसको मासु तथा अण्डाबाट धेरै फाइदा हुने भएकाले र हाँसको मासु मीठो हुने भएकाले मानिस फार्ममै आएर हाँस तथा चल्ला र अण्डा किनेर लैजाने गरेका छन्”, महतोले भने, “पछिल्लो समय रेष्टुरेन्ट तथा होटलले छोइला बनाउनका लागि समेत हाँसको माग गरेका छन् ।”

सानो क्षेत्रफलमा पनि राम्रोसँग हाँसपालन फस्टाएको र धेरै दुःख नगरी राम्रो आम्दानी लिन सकिने भएकाले हाँसपालनमा लागेको उनको भनाइ छ । महतोले भने, “दाना हुँदा दाना दिने, होइन भने घाँसबारीमा छोडिदिएमा पनि हाँस अघाउने गरेको छ ।” माछा पोखरी र धानबारीमा हाँसपालन गर्दा दोहोरो फाइदा लिन सकिन्छ ।

“धानखेती भएको ठाउँमा माछापालन गर्दा हाँसले धानमा हुने अनावश्यक झारहरु खाने तथा नष्ट गर्ने गर्छ तर धानलाई कुनै पनि नोक्सान गर्दैन”, महतोले भने । त्यस्तै माछा पोखरीमा हाँसपालन गर्दा पोखरीमा भएका अनावश्यक घोँगी, सिपी तथा सर्पहरु हाँसले खाइदिन्छ जसले गर्दा माछा सप्रिन पाउँछ । पोखरीमा हाँस पालन गर्दा हाँसले पोखरीमा पौडी खेल्दा र घोँगी टिप्न जाँदा पानीमा अक्सिजनको मात्रा समेत बढेर माछालाई फाइदा पुग्ने बताइन्छ ।

You might also like

Comments are closed.