काठमाडौं । गैरआवासिय नेपाली संघ (एनआरएनए)को आयोजना तथा कैलाली उद्योग वाणिज्य संघ र डोटी उद्योग वाणिज्य संघको संयुक्त सहकार्यमा डोटीका भूकम्प पीडितलाई राहत सामग्री वितरण गरिएको छ ।
कार्तिक २२ गते मङ्गलवार राति ९ बजेर ७ मिनेटमा दिपायल केन्द्रबिन्दू भएर आएको ५.७ म्याग्नेच्युटको भूकम्पको धक्का पश्चिम नेपालका अधिकांश जिल्लामा महसुस गरिएको थियो । डोटीमा भूकम्पले घर भत्किँदा ६ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका थिए ।
जिल्ला विपत् व्यवस्थापन समितिमार्फत भूकम्प पीडितलाई साढे तीन लाखभन्दा बढी बराबरको राहत सामग्री सहयोग गरिएको गैरआवासिय नेपाली संघ (एनआरएनए) का कार्यकार अध्यक्ष रविना थापाले जानकारी दिइन् ।

भुकम्पमा परी जनधनको क्षति भएपछि (एनआरएनए)ले उद्योग वाणिज्य संघहरुसंगको समन्वयमा डोटीका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख र नेपाल रेडक्रस सोसाईटी डोटी शाखाका प्र्रदेश महासचिवलाई राहात सामग्री हस्तान्तरण गरेको अध्यक्ष थापाले जानकारी दिइन् ।
एनआरएनएले २०७२ सालको भूकम्पमा पनि गोर्खालगायतका विभिन्न जिल्लामा ठूलो सहयोग गरेको थियो । एनआरएनएको सहयोगमा डोटीमा तीन लाख ५४ हजार सात सय ५० बराबरको राहत सामग्री वितरण गरिएको र यसले भूकम्प पीडितहरुलाई ठूलो राहत मिलेको डोटी उद्योग वाणिज्य संघका महासचिव दीपकबहादुर खड्काले बताए ।




Comments are closed.