पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष प्रधानको निधन

पोखरा । पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष, मानार्थ सदस्य तथा सल्लाहकार हेमबहादुर प्रधानको आइतबार निधन भएको छ । बिहान १०ः३० बजे काठमाडौंको भैंसेपाटीस्थित आफ्नै निवासमा उनको निधन भएको हो । १९९४ साल भदौ १७ गते पर्वतको पाङमा जन्मिएका भएका प्रधान संघको साधारण सदस्य, २०२३ सालमा कार्यसमिति सदस्य, २०२५–२०२७ मा सचिव, २०२९–२०३४ मा उपाध्यक्ष हुँदै २०३५ देखि २०४१ सालसम्म अध्यक्ष भएका थिए ।

संघका विभिन्न पद तथा अध्यक्ष रहँदा उनले संघको गरिमा उकास्न तथा निजी क्षेत्रको हक÷हितको लागि महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । तत्कालीन पोखरा व्यापार संघलाई पोखरा उद्योग वाणिज्य संघमा रुपान्तरण गर्न तथा क्षेत्रीय उद्योग वाणिज्य संघको स्थापनामा उनको योगदान छ ।

पोखरा उद्योग वाणिज्य संघको प्रतिनिधित्व गर्दै उनले नेपाल उद्योग वाणिज्य महासंघको कार्यसमिति सदस्य तथा २०४४ सालमा उपाध्यक्ष रहेका थिए । २०१९ सालमा पर्वतबाट पोखरा आएका प्रधानले सुरुमा कपडा व्यवसाय गरे भने २०३३ सालमा पोखरा औद्योगिक क्षेत्रमा शिवशंकर बिस्कुट उद्योग, विन्दुवासिनी चलचित्र मन्दिर प्रालिसमेत संचालन गरेका थिए ।

footwear zone

सफल उद्योगीको परिचय बनाएका प्रधान जीवनको उत्तरार्धमा भने धार्मिक र सामजिक क्षेत्रमा क्रियाशील थिए । नेपाली कांग्रेस कास्कीका कोषाध्यक्ष, २१ वर्ष विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिको अध्यक्षसहित विभिन्न संघ÷संस्थामा आवद्ध प्रधानले विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले संचालन गर्ने गरी हेम देवी धर्म संस्कृति तथा समाज सेवा कोष एवं विभिन्न संघ÷संस्थाको लागि पनि अक्षण कोष स्थापनामा सघाएका थिए ।

यसैबीच, प्रधानको असामयिक निधनबाट संघले स्तब्ध, मर्माहत एवं शोकाकुल भएको जनाएको छ । ‘सफल उद्योगी÷समाजसेवी तथा आध्यात्मिक व्यक्तित्वको रुपमा स्वर्गीय प्रधान पोखराको लागि सदा स्मरणीय रहने छ भन्ने हाम्रो विश्वास रहेको छ । स्वर्गीय प्रधानका ५ सुपुत्री र एक सुपुत्र रहनु भएको छ,’ संघद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘अभिभावक तथा संघका पारिवारिक सदस्य गुमाउँदाको पीडा हामी शब्दमा वर्णन गर्न असमर्थ छौँ । दुःखको यो घडीमा पोखरा उद्योग वाणिज्य संघ सचिवालयमा रहेको झण्डा आधा झुकाएर ससम्मान श्रद्धाञ्जली व्यक्त गर्दै उहाँको देहमुक्त आत्माको चीरशान्तिको कामनाका साथै परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछ ।’

You might also like

Comments are closed.